कलैया : गरीब र भूमिहीनका लागि योजनाबद्ध नयाँ वस्ती निर्माण गर्ने आम जनता पार्टी (आजपा) का बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले प्रतिबद्धता व्यक्त गरेका छन्। आदर्श कोतवाल गाउँपालिकाको वडा नं. ४ कोईलीडीह र हरनहिया, वडा नं. ३ बतरा, वडा नं. २ खजुरिया तथा बारागढी गाउँपालिकाको विसुनपूर्वा बजारमा आयोजित जनसम्पर्क तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
गरीब, भूमिहीन तथा विपन्न वर्गका नागरिकका लागि योजनाबद्ध नयाँ वस्ती निर्माण गर्ने महत्वाकांक्षी एजेन्डा उनले जनतासँग प्रत्यक्ष संवाद, घरदैलो अभियान र सभामार्फत जानकारी गराएका हुन्। “जनता पहिलो, आजपा हाम्रो भरोसा!” भन्ने नारा सहित उनी जनसम्पर्क गरिरहेका हुन्। उनले आवास, रोजगारी र आधारभूत सेवामा पहुँचलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको स्पष्ट पारेका हुन्।
“घर नागरिकको अधिकार हो, विलासिता होइन उनले स्पष्ट पारेका छन्। हजारौँ परिवार अझै सुरक्षित आवासबाट वञ्चित रहेको जनाउदै आजपाको सरकार बनेपछि व्यवस्थित आवास परियोजना ल्याएर गरीब तथा भूमिहीनलाई स्थायी घर उपलब्ध गराइने उनले जनाएका हुन्।
प्रस्तावित नयाँ वस्तीहरूमा स्वच्छ खानेपानी, स्वास्थ्य चौकी, विद्यालय, सडक, विद्युत्, शौचालय, डिजिटल सेवा रहनेछ। उनले रोजगारी सिर्जना कार्यक्रमसमेत समेटिने जनाएकाहुन्।
“भूमिहीनलाई जमिन, गरीबलाई मकान—आजपाको विकास अभियान!” भन्ने नारा अगाडी ल्याएकाछन्। मधेश क्षेत्रमा अव्यवस्थित बसोबास र गरिबी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य रहेको उनले बताएकाछन्।


