कलैया : बारामा पछिल्लो समय संगठित मोटरसाइकल चोरी गर्ने गिरोहका कारण चोरीको घटना बढ्दै गएको छ। जिल्लाको सदरमुकाम कलैया लगायतका क्षेत्रमा सक्रिय संगठित गिरोहका कारण मोटरसाइकल चोरीको घटना बढेको हो। यसले सर्वसाधारणले असुरक्षित महसुस गर्न थालेका छन्। चालु आर्थिक वर्ष २०८२/०८३ को सुरुवाती आठ महिनाको तथ्याङ्क हेर्दा जिल्लाको सुरक्षा अवस्था निकै फितलो रहेको देखिएको छ।
साउनदेखि फागुन सम्मको अवधिमा मात्रै बाराका विभिन्न स्थानबाट ६१ वटा मोटरसाइकल चोरी भइसकेको जिल्ला प्रहरी कार्यालय बाराको तथ्यांकमा रहेको छ। यो संख्या अघिल्लो पूरा आर्थिक वर्ष २०८१/०८२ को कुल चोरी भन्दा बढी हो। आर्थिक वर्षको बाँकी चार महिना अझै बाँकी रहेको छ। चोरीको यो दरले नयाँ रेकर्ड कायम गर्ने देखिएको छ। जसले जिल्लाको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्नहरु उठेको छ।
सुरक्षाको दृष्टिकोणले सबैभन्दा सुरक्षित मानिने जिल्ला प्रहरी कार्यालय बाराकै आसपासबाट मोटरसाइकल हराउने गर्छ। चोरहरूको मनोबल कति उच्च छ भन्ने स्पष्ट पार्छ। सोमबार मात्रै प्रहरी कार्यालयबाट करिब ५०० मिटरको दूरीमा रहेका दुई स्थानबाट दिनदहाडै मोटरसाइकल चोरी भएको छ। कलैया उपमहानगरपालिका–६ मदर्सा टोलका अब्दुर रहिम अन्सारीको टिभिएस राइडर र कलैया–१ मोतिबाग निवासी साहेब अन्सारीको एनएस–२०० मोटरसाइकल चोरी भएको छ। यी दुवै घटना व्यस्त समयमा भएको हो। मुख्य बजार क्षेत्रकै आसपास भएका हुन्।
“प्रहरी प्रशासनको नाककै मुनिबाट दिनदहाडै सवारी साधन हराउनु भनेको सर्वसाधारणका लागि सुरक्षाको प्रत्याभूति नहुनु रहेको पीडित अव्दुर रहिमले बताए। हामीले अब आफ्नो सम्पत्ति कहाँ सुरक्षित राख्ने? उनले प्रश्न गरे। सदरमुकाममै सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहँदा त यस्तो अवस्था छ भने प्रहरीको पहुँच कम भएका ग्रामीण र सीमावर्ती क्षेत्रको अवस्था झन् भयावह हुनसक्ने नागरिक समाजको भनाई रहेको छ।
लगातार बढ्दो चोरीका घटनाले प्रहरीको गस्ती र निगरानी माथि प्रश्न उठेको छ। चोरी भएका ६१ वटा मोटरसाइकलमध्ये थोरै मात्र फेला पर्नु र संलग्न गिरोहलाई पक्राउ गर्न नसक्नुले प्रहरीको अनुसन्धान क्षमतामाथि प्रश्न उब्जिएको छ। स्थानीयहरूले बजारका मुख्य चोकहरूमा सिसीटिभी क्यामेराको अभाव र रातको समयमा गस्तीको कमी भएको कारण सुरक्षा अवस्थामा प्रश्न उठेको छ। प्रहरीले खोजी कार्य भइरहेको दाबी गरेको छ। परिणाममुखी काम नहुँदा बाराबासीहरूले आफ्नो सवारी साधन पार्किङ गर्दा समेत डर मान्नुपर्ने स्थिति सिर्जना भएको छ।

