रौतहटमा शान्तिपूर्ण रूपमा मतदान जारी, साढे १२ बजेसम्म ४० प्रतिशत मतदान

साझेदारी डेलि
271 पाठक संख्या

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट जिल्लाभरिमा जारी मतदानमा साढे १२ बजेसम्म करिब ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

मध्यान्ह १२ बजेसम्म जिल्लाभर उक्त परिमाणमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले बताएका छन् । बिहानदेखि मतदाताहरू निकै उत्साहपूर्वक मतदान केन्द्रमा पुगेका कारण अधिकांश स्थानमा मतदाताले उत्साहका साथ मतदान गरिरहेको छ ।

रौतहटमा कुल चार लाख ३६ हजार ६११ मतदाता छन् । जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ४१ मतदान केन्द्र र २७७ मतदान स्थल कायम गरिएका छन् । २७७ मतदान स्थल मध्ये १५२ स्थल अतिसंवेदनशीलको सूचीमा छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार जिल्लाका एक–दुई स्थानमा सामान्य विवाद बाहेक अन्य सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। सुरक्षाकर्मीले मतदान केन्द्रहरूमा कडा सुरक्षा व्यवस्था मिलाएका छन् भने सम्भावित अवाञ्छित गतिविधि रोक्न निगरानी बढाइएको जनाइएको छ।

निर्वाचन अधिकारीहरूका अनुसार दिउँसोपछि पनि मतदाताको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ। हालसम्मको अवस्थालाई हेर्दा रौतहटमा करिब ७० प्रतिशतसम्म मतदान हुने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदान प्रक्रिया व्यवस्थित र सुरक्षित बनाउनका लागि निर्वाचन कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका छन्। मतदाताहरूलाई शान्तिपूर्ण वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिएको छ।

Leave a review