नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रञ्जन यादव
222 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ। सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

उपमहानगरपालिका भित्रका ३७ वटा विद्यालयका विद्यार्थीहरू सहभागी रहेको प्रतियोगितामा विभिन्न खेल विधामा प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै प्रदेश सभा सदस्य चौधरीले खेलकुदले युवापुस्ताको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए। उनले यस्ता प्रतियोगितामार्फत नयाँ प्रतिभाको पहिचान र खेलकुद संस्कृतिको विकास हुने विश्वास व्यक्त गरे।चौधरीले खेलकुदले विद्यार्थीमा अनुशासन, जिम्मेवारी र आत्मविश्वास बढाउने उल्लेख गर्दै विद्यार्थीलाई सानै उमेरदेखि खेलकुदमा सक्रिय हुन आग्रह गरे।

कार्यक्रममा सामुदायिक विद्यालयको तर्फबाट बोल्दै जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु प्रसाद अधिकारीले सानो दायराबाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अहिले व्यापक रूपमा विस्तार भएको बताए। उनले उपमहानगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि देखाएको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न सहयोग पुग्ने धारणा राखे।

उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अत्यन्त आवश्यक रहेको बताए। उनले खेलकुदले अनुशासन, नेतृत्व क्षमता तथा प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि स्थानीय सरकारले निरन्तर लगानी र सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते, तेक्वान्दो, एथ्लेटिक्स लगायतका विभिन्न खेल विधा समावेश गरिएको छ। प्रतियोगितामा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको छ भने अभिभावक र शिक्षकहरूको समेत उल्लेख्य उपस्थिति रहेको छ।

उपमहानगरपालिकाले विद्यालय स्तरमा रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको क्षमता विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाएको छ। प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने आयोजक सचिवालयले जानकारी दिएको छ। उद्घाटन कार्यक्रममा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका प्रधानाध्यापक शंकर आचार्यसहित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds