इनिशा बिकको न्यायको माग गर्दै कलैयामा दीप प्रज्वलन

साझेदारी डेलि
201 पाठक संख्या

कलैया । सुर्खेतमा १६ वर्षीय इनिशा बिकको हत्या प्रकरणमा न्यायको माग गर्दै बाराको कलैयामा दीप प्रज्वलन गरिएको छ। बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा आइतबार इनिशा बिक हत्या प्रकरणको निष्पक्ष छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै स्वतन्त्र युवाहरूले दीप प्रज्वलन गरेका हुन्।

उक्त दिप प्रज्वलन कार्यक्रममा ” देशका छोरीहरू एक हौं,”बलात्कारी विरुद्ध अभियान चलाऔँ”इनिशालाई न्याय दे”, “हत्यारालाई फाँसी दे” लगायतका नारा लगाएका थिए।

गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा इनिशा बिक मृत अवस्थामा फेला परेकी थिइन्। वीरेन्द्रनगर–६ स्थित एक विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा प्रयोगात्मक कक्षाका लागि घरबाट निस्किएकी थिइन्। तर, उनी वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परिन्।

सोही दिन कर्णाली प्रदेश अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। इनिशाको पोस्टमार्टम रिपोर्टले अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको देखाएको छ। प्रहरीले अनुसन्धानका क्रममा हालसम्म चार जनालाई नियन्त्रणमा लिएको छ।

एक १६ वर्षीय बालक, जसले प्रहरी समक्ष इनिशासँग शारीरिक सम्बन्ध राखेपछि रक्तश्राव भएको र उनी बेहोस भएको बयान दिएका छन्। घटनामा संलग्नताको आशंकामा थप तीन जना बालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

उक्त दीप प्रज्वलन कार्यक्रममा सुजित पाण्डे, सागर पटेल, सौरभ पाण्डे, मन्दिप दुबे, सुरज खनाल, सुरज साह, अजय यादव, दिपक यादव, मन्दिप यादव, दिपेन्द्र साह लगायत महिला तथा युवाहरूको सहभागिता रहेको थियो।

यसैगरी सिमरामा समेत दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ। सिमराका स्थानीय युवाहरूले स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएर इनिशाको न्यायका लागि आवाज उठाएका हुन्। “जस्टिस फर इनिशा विक” भन्दै उनीहरूले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

Leave a review