कलैयामा शतचण्डी महायज्ञ प्रारम्भ

साझेदारी डेलि
54 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका–८ मा बिहीबारदेखि शतचण्डी महायज्ञ सुरु भएसँगै क्षेत्रमा धार्मिक वातावरण बढेको छ। धार्मिक आस्था अभिवृद्धि, सांस्कृतिक संरक्षण तथा राष्ट्र र विश्वकल्याणको उद्देश्यले आयोजना गरिएको महायज्ञको उद्घाटन नेपाली काँग्रेस बाराका निवर्तमान सभापति जयचन्द्र चौरसियाले गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै चौरसियाले यस्ता धार्मिक अनुष्ठानले समाजमा सकारात्मक सोच र ऊर्जा प्रवाह गर्ने बताउनुभयो। उहाँका अनुसार महायज्ञले सामाजिक सद्भाव, एकता र शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

महायज्ञअन्तर्गत दैनिक रूपमा चण्डी पाठ, हवन, पूजाआजा लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। आयोजकका अनुसार कार्यक्रम अवधिभर विभिन्न धार्मिक व्यक्तित्व, बुद्धिजीवी तथा सर्वसाधारणको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको छ।

भक्तजनहरूको सहजताका लागि आवश्यक व्यवस्थापन गरिएको आयोजकले जनाएको छ। साथै, महायज्ञसँगै धार्मिक प्रवचन, भजन–कीर्तन तथा सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएका छन्। स्थानीयवासीहरूले महायज्ञले आध्यात्मिक जागरणसँगै समुदायमा आपसी मेलमिलाप र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्। कार्यक्रम १० दिनसम्म सञ्चालन हुने जनाइएको छ।

Leave a review