प्रादेशिक अस्पताल कलैयामा ओसिएमसी सेवा प्रभावकारी देखिएन : अध्यक्ष पराजुली

साझेदारी डेलि
64 पाठक संख्या

कलैया : बाराको प्रादेशिक अस्पताल कलैयामा सञ्चालनमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) प्रभावकारी रूपमा सञ्चालन नभएको पाइएको छ। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पाराजुलीले अनुगमनका क्रममा ओसिएमसी सेवा प्रभावकारी नदेखिएको बताएकी हुन्।

सोमबार जिल्ला प्रशासन कार्यालय बारामा आयोजित अनुगमन तथा छलफल कार्यक्रममा अध्यक्ष पराजुलीले प्रादेशिक अस्पतालमै ओसिएमसी शाखा बन्द अवस्थामा भेटिएको र सम्बन्धित कर्मचारीहरू अनुपस्थित रहेको जानकारी दिइन्। उनका अनुसार अस्पताल परिसरमा ओसिएमसी सम्बन्धी कुनै पनि सचेतनामूलक बोर्डसमेत देखिएको छैन ।

अध्यक्ष पाराजुलीले ओसिएमसीका लागि प्रत्येक आर्थिक वर्षमा १० लाखभन्दा बढी बजेट विनियोजन हुने भए पनि त्यसअनुसार सेवा प्रवाह हुन नसकेको जानकारी दिइन् । ओसिएमसीमार्फत हिंसा पीडित वा प्रभावित व्यक्तीहरुलाई स्वास्थ्य उपचार लगायत कानूनी, मनोसामाजिक परामर्श, सुरक्षा, सुरक्षीत आवास र पूनर्स्थापनाका लागि प्रदान गर्न उनले आग्रह गरिन् ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्लाका १६ औं स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र प्रादेशिक अस्पतालमा ओसिएमसी सम्बन्धी सचेतनामूलक बोर्ड राख्न निर्देशन दिएका छन्। साथै स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग यस विषयमा छिट्टै छलफल गर्ने बताएका छन्।

उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडा,सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, राष्ट्रिय अनुसन्धानका उप-निर्देशक सरोज निरौला,अस्पतालका शोभा कुमारी राजवन्शी तथा आयोगका कर्मचारी,सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो।

यता अस्पतालका ओसिएमसी प्रमुख अनिता कुमारी जैसवालले आफूसहित कर्मचारीहरू लेबर वाडमा व्यस्त रहेकाले शाखामा उपस्थित हुन नसकेको जानकारी दिएकी छिन् । उनका अनुसार चालू आर्थिक वर्ष २०८२/०८३ को फागुनसम्म ९८ जना हिंसा प्रभावितहरुलाई सेवा प्रदान गरिएको छ भने गत वर्ष १६६ जनालाई सेवा प्रदान गरिएको थियो ।

Leave a review

This will close in 0 seconds