जीतपुर : बाराको सिमरामा हरेक वर्ष आयोजना हुँदै आएको जीतपुरसिमरा क्रिकेट कपको तेस्रो संस्करण यो पटक थप भव्य र प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ। फ्रेन्चाइज टोली जनकपुर बोल्ट्ससँगको सहकार्यपछि प्रतियोगिताले नयाँ उचाइ पाउने अपेक्षा गरिएको हो ।
आयोजक जीतपुरसिमरा स्पोट्र्स क्लबले चैत २१ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने तयारी तीव्र पारेको छ। यस संस्करणमा जनकपुर बोल्ट्सले सहभागिता मात्र नभई प्रत्यक्ष सहकार्य गर्दै आयोजक क्लब र खेलाडीहरूलाई जर्सी उपलब्ध गराएको छ।
मंगलबार सिमरामा आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका संस्थापक उत्सव सिग्देलका पिता महेश सिग्देलले जर्सी हस्तान्तरण गर्दै नेपाली क्रिकेटको समग्र विकासमा आफ्नो टोली प्रतिबद्ध रहेको बताए। उनले क्रिकेटलाई राष्ट्रिय एकता र पहिचानसँग जोड्दै यस्ता प्रतियोगिताले प्रतिभा उत्पादनमा टेवा पुग्ने धारणा राखेका छन। साथै, स्थानीय तहबाट आवश्यक जग्गा उपलब्ध भए रंगशाला निर्माणमा समेत सहयोग गर्ने घोषणा गरिएको छ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले निजी क्षेत्रसँगको सहकार्यले खेलकुद पूर्वाधार विकासमा सकारात्मक प्रभाव पार्ने बताए। उनले मैदान व्यवस्थापन र क्रिकेट संरचना सुधारका लागि नगरपालिका आवश्यक निर्णय लिन तयार रहेको स्पष्ट पारेका छन ।
क्लबका अध्यक्ष सोमलाल बम्जनले प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यसपटकको संस्करण अझ व्यवस्थित र प्रतिस्पर्धात्मक हुने दाबी गरे। प्रतियोगितामा आयोजकसहित बारा, पर्सा, सर्लाही, मकवानपुर र चितवनका टोलीहरूको सहभागिता रहनेछ।
यस वर्ष पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले टिमले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै उत्कृष्ट ब्याटर र बलरलाई जनही ५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।
जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने यस प्रतियोगिताले क्षेत्रीय क्रिकेटको विकास, प्रतिभा पहिचान र खेलकुद संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

