जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहामा दाजुभाइबीचको अंशसम्बन्धी विवाद चर्किँदै गएको छ। पारिवारिक सम्पत्तिको विषयमा सुरु भएको मतभेद अहिले हिंसा, धम्की र कानुनी झमेलासम्म पुग्दा पीडित पक्ष सार्वजनिक रूपमा न्यायको माग गर्न बाध्य भएको छ।
पीडित हासिम मियाले करिब २० बिघा पैतृक सम्पत्ति दाजु कासिम मियाले किर्ते कागजात बनाएर आफ्नो नाममा नामसारी गरेको आरोप लगाएका छन्। उनका अनुसार झुक्याएर हस्ताक्षर गराइएको र आफूले आफ्नो हिस्सा माग्दा अस्वीकार मात्र होइन, उल्टै आक्रमण र धम्कीसमेत सहनुपरेको छ।
विवाद उग्र बन्दै जाँदा आफू र परिवारमाथि बाहिरी व्यक्तिहरू लगाएर पटक–पटक कुटपिट गराइएको तथा ज्यान मार्ने धम्की दिइएको हासिम मियाले बताए। सुरक्षा अभावका कारण उनीहरू आफ्नै पैतृक घर छाडेर हाल सिमरा बजार क्षेत्रमा बस्न बाध्य भएको जनाइएको छ।
“अंशको मुद्दा अदालतमा पुगेको छ। अदालतले न्याय देला वा नदेला त्यो आफ्नो ठाउँमा छ, तर मुद्दा टुंगो नलाग्दासम्म आफ्नै घरमा बस्ने अधिकार सुरक्षित हुनुपर्छ,” हासिम मियाले भने।
उनकी बहिनी शैरा खातुनले पनि अंश माग्दा दमन भोग्नुपरेको गुनासो गरिन्। उनले इलाका प्रहरी कार्यालय सिमरामा दिएको उजुरीमाथि प्रभावकारी कारबाही नभएको आरोप लगाउँदै मुख्य आरोपितलाई नपक्राउ गरिएको तर अन्य दुई जनालाई मात्रै नियन्त्रणमा लिइएको बताइन्।
यसैबीच, मालपोत कार्यालय र वडा कार्यालयमार्फत गरिएको जग्गा नामसारी प्रक्रियामाथि पनि प्रश्न उठेको छ। पीडित पक्षले आफू उपस्थित नभएको अवस्थामा कसरी नामसारी भयो भन्ने विषयमा छानबिनको माग गरेको छ। हाल मुद्दा अदालतमा विचाराधीन रहेको र करिब ८२ कित्ता जग्गा रोक्का गरिएको जानकारी दिइएको छ।
रोक्का हुँदाहुँदै पनि जग्गा अन्य व्यक्तिको नाममा सार्ने प्रयास भइरहेको आरोप पीडित परिवारले लगाएको छ। परिवारका अन्य सदस्यहरूले मानसिक र शारीरिक असुरक्षा झेल्नुपरेको बताएका छन्।
घटनाबारे इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीले अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनका अनुसार चैत ८ गते घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरिएको छ र उनीहरू हाल प्रहरी हिरासतमा रहेका छन्।
पारिवारिक विवादले गम्भीर रूप लिँदा अंशसम्बन्धी कानुनी प्रक्रिया, सामाजिक विश्वास र सुरक्षाको विषयमा स्थानीय स्तरमै प्रश्न उठ्न थालेका छन्। पीडित परिवारले आवश्यक परे उच्च निकायसम्म पुगेर न्यायको खोजी जारी राख्ने चेतावनी दिएको छ।

