बारा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रशासनिक नेतृत्व सुदृढ गर्ने क्रममा २३ जना उपसचिवको सरुवा गरेको छ। सोही क्रममा बारा जिल्लाका दुई नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएका छन्।
मन्त्रालयको पछिल्लो निर्णयअनुसार सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नवराज अधिकारीलाई खटाइएको छ। अधिकारी यसअघि रक्षा मन्त्रालयमा कार्यरत थिए।
लामो समयदेखि प्रशासनिक अन्योल भोगिरहेको सिम्रौनगढमा उपसचिव स्तरको नेतृत्व आएसँगै स्थानीय विकास तथा प्रशासनिक कार्यमा गति आउने अपेक्षा गरिएको छ।
त्यसैगरी, पचरौता नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी श्रीधर पन्थीलाई दिइएको छ। पन्थी यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत थिए।


