कलैया । तिहारको बेला कलैयाका युवाहरूले हाम्रो सडक, हाम्रो अधिकार अभियान अन्तर्गत हस्ताक्षर अभियान शुरु गरेका छन्।
उनीहरूले कलैया–सितलपुर सडकको जीर्ण अवस्थाविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेका हुन्।
करिब तीन किलोमिटर लामो यो सडक रहेको छ। यो सडक अहिले कलैयावासीका लागि ‘त्रासदीको बाटो’ बनेको छ। धुलो र खाल्डाखुल्डीले स्वास्थ्यदेखि यातायातसम्ममा गम्भीर असर पारेको छ।
नेताहरू र स्थानीय सरकारबाट ‘छिट्टै मर्मत गर्छौं’ भन्ने आश्वासन मात्र पाइरहेका नागरिकहरूले यसपालि ‘हाम्रो सडक, हाम्रो अधिकार’ भन्ने नारासहित सडकमै संघर्ष गरिरहेका हुन्।
युवा अभियन्ता सौरभ पाण्डेको अगुवाइमा भइरहेको अभियानले तिहारकै बेला व्यापक जनसमर्थन पाएको छ। बिहानैदेखि बेलुकासम्म टोलीले घर–घर, बजार र चोक–चौकमा पुगेर हस्ताक्षर संकलन गरिरहेको छ।
हालसम्म २,००० भन्दा बढी नागरिकको हस्ताक्षर संकलन भइसकेको छ। आयोजकहरूले ५,००० हस्ताक्षर सङ्कलन गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाउने तयारी गरेका छन्।
हस्ताक्षर बुझाएको केही समयभित्र सरकारले ठोस कदम चालेन भने कलैयावासीहरू सडकमा उत्रने र आन्दोलनको जिम्मेवारी पूर्ण रूपमा सरकार र ठेकेदार कम्पनीले लिनुपर्ने यूवाहरु जनाउछन्।


