कोल्हवी । बारा जिल्लाको मधुवन क्षेत्रमा गरिएको शुक्रवाररात्री गस्तीका क्रममा अवैध साल काठसहित एक व्यक्ति पक्राउ परेका छन्। डिभिजन वन कार्यालय बाराअन्तर्गत मधुवन सब–डिभिजन वन कार्यालयको टोलीले उक्त कारबाही गरेको हो।
रेञ्जर उदय पुडासैनीको नेतृत्वमा खटिएको गस्ती टोलीले राति करिब मध्यरातमा नियमित निगरानीका क्रममा सालको गोलिया काठ १ थान, आरा १ थान र साइकल १ थानसहित एक जनालाई नियन्त्रणमा लिएको डिभिजनल वन अधिकृत सुजित कुमार झाले बताए।
पक्राउ पर्ने व्यक्ति कलैया उपमहानगरपालिका–१५ बकुलहरका ४८ वर्षीय हिरा सहनी रहेको खुलाइएको छ। वन क्षेत्रमा अवैध कटानी भइरहेको सूचनाका आधारमा टोली परिचालन गरिएको वन कार्यालयले जनाएको छ।
हाल पक्राउ परेका सहनीमाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ भने यस घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको बताइएको छ।
वन कार्यालयका अनुसार पछिल्ला दिनमा वन अतिक्रमण र काठ चोरीका घटना बढ्दै गएपछि रात्री गस्तीलाई थप सशक्त बनाइएको छ। वन संरक्षणमा यस्ता कारबाही प्रभावकारी बन्दै गएको कार्यालयको दाबी छ। कारबाही सफल बनाउन खटिएका कर्मचारीप्रति डिभिजनल वन अधिकृत झाले आभार व्यक्त गरेका छन्।

