सिमरा सेजको अतिक्रमित जग्गा हटाउन प्रक्रिया सुरु

साझेदारी डेलि
51 पाठक संख्या

कलैया । सिमरामा रहेको विशेष आर्थिक क्षेत्र (सेज) भित्रको ठूलो भूभाग अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएको छ। प्राधिकरणको नियन्त्रणमा रहेको कुल ८३३ बिघा जमिनमध्ये ४९० बिघा क्षेत्र अहिले अतिक्रमित अवस्थामा पुगेको छ।

उक्त अतिक्रमित क्षेत्रमा करिब छ सयभन्दा बढी व्यक्तिले घरटहरा निर्माण गरी बसोबास गर्दै आएका छन् भने कतिपयले खेतीपाती समेत गर्दै आएका छन्। यसले सेजको योजनाबद्ध विकासमा चुनौती थपिएको छ।

हाल सेजको ३४३ बिघा जमिनमा विभिन्न उद्योग सञ्चालनमा रहेका छन् भने केही उद्योग निर्माणको चरणमा छन्। तर बाँकी क्षेत्र प्रभावकारी व्यवस्थापन अभावका कारण अतिक्रमणतर्फ गएको देखिन्छ।

सेजका साइट इन्चार्ज पप्पु गिरीका अनुसार अतिक्रमण हटाउने तयारी सुरु भइसकेको छ। यसका लागि स्थानीय तह, प्रशासन र प्रहरीसँग समन्वय भइरहेको छ। अतिक्रमणकारीलाई घरटहरा हटाउन र नयाँ खेती नगर्न सूचना समेत जारी गरिएको छ।

प्राधिकरणका सबइन्जिनियर अजयकुमार चौधरीले विगतमा वीरगञ्ज चिनी कारखाना बन्द भएपछि त्यहाँ कार्यरत कामदारलाई अस्थायी रूपमा बस्न दिइएको जग्गा विस्तार हुँदै अहिले समस्या जटिल बनेको बताए।

यसैबीच, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले अतिक्रमण हटाउने क्रममा आवश्यक सुरक्षा व्यवस्थापन गर्न प्रशासन तयार रहेको स्पष्ट पारेका छन्। सेज क्षेत्र ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरी पाँच ब्लकमा विभाजन गरिएको छ। तर विकास हुन बाँकी अधिकांश ब्लकमा अतिक्रमण बढ्दो अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।

Leave a review

This will close in 0 seconds