बारा । बाराको आदर्शकोतवाल गाउँपालिका–६ मा सञ्चालित अवैध घरेलु मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी सहायक निरीक्षक अजय बहादुर क्षेत्रीको कमाण्डमा खटिएको टोलीले आज दिउँसो उक्त स्थानमा छापा मारेको हो।
छापाका क्रममा आदर्शकोतवाल–६ पटेर्वा बस्ने संजित कलवारले आफ्नो निजी खेतमा दुई कोठे टहरा बनाई गोप्य रूपमा सञ्चालन गरिरहेको अवैध मदिरा उद्योग फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले घटनास्थलबाट मदिरा उत्पादनका लागि प्लास्टिकका ड्रमहरूमा भण्डारण गरिएको करिब एक हजार लिटर कच्चा पदार्थ बरामद गरी पूर्ण रूपमा नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेश राज भट्टका अनुसार नष्ट गरिएको कच्चा पदार्थको बजार मूल्य करिब ६० हजार रुपैयाँ बराबर रहेको छ।


