सिमरा । डिभिजन वन कार्यालय बाराले निजगढ नगरपालिका–२ स्थित बन्देवी सामुदायिक वन क्षेत्रभित्र अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन ११ परिवारलाई सात दिनभित्र क्षेत्र खाली गर्न सूचना जारी गरेको छ।
कार्यालयद्वारा प्रकाशित सूचनाअनुसार बन्देवी सामुदायिक वन उपभोक्ता समूहअन्तर्गतको १९.७८२ हेक्टर र १.२२ हेक्टर वन क्षेत्र अतिक्रमण गरी ११ परिवारले घर निर्माण गरेर बसोबास गर्दै आएका छन्। यस सम्बन्धमा बारा जिल्ला अदालतबाट उक्त क्षेत्र वन क्षेत्र कायम हुने फैसला भए पनि हालसम्म अतिक्रमण हटाइएको छैन।
डिभिजन वन कार्यालयका अनुसार अदालतको आदेशलाई बेवास्ता गर्दै वन ऐन, २०७६ तथा प्रचलित कानुनविपरीत वन क्षेत्र अतिक्रमण गरी बसोबास गरिरहेका व्यक्तिहरूलाई जेठ २९ गते जारी गरिएको सूचनामार्फत सात दिनभित्र घरटहरा हटाई वन क्षेत्र खाली गर्न निर्देशन दिइएको छ।
कार्यालयले वन क्षेत्रभित्र अनधिकृत रूपमा घरटहरा निर्माण गरी बसोबास गरिरहेका नरबहादुर क्षेत्री, बुधकुमारी तिमल्सिना, चेतकुमारी थापा, मनकुमारी थापा, दिनेश केसी, सीताराम लम्साल, बोलखबहादुर फुलाल, राजु घिसिङ, डम्बरबहादुर राई, मोहन राई तथा श्यामबहादुर घिसिङको नाममा उक्त सूचना जारी गरेको जनाएको छ।
सूचनामा तोकिएको समयसीमाभित्र अतिक्रमित क्षेत्र खाली नगरे वन कार्यालयले कानुनबमोजिम जबर्जस्ती खाली गराउने, त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाट असुल गरिने तथा वन ऐन, २०७६ अनुसार थप कारबाही र सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ।
डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत सुजितकुमार झाले वन क्षेत्र संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। उहाँले सम्बन्धित सबै पक्षलाई तोकिएको समयभित्र वन क्षेत्र खाली गरी सहयोग गर्न आग्रह गर्नुभएको छ।
सूचनाअनुसार अतिक्रमित क्षेत्रको चार किल्ला पूर्वमा निजगढ जाने ग्राभेल सडक, पश्चिममा सरस्वती सामुदायिक वन तथा राष्ट्रिय वनको सिमाना, उत्तरमा सिंगौल बस्ती, राष्ट्रिय वन र लोकप्रिय प्रावि क्षेत्र तथा दक्षिणमा राष्ट्रिय वन (सिद्धपोखरी) क्षेत्र रहेको छ। वन क्षेत्रको संरक्षण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन डिभिजन वन कार्यालय बाराले अतिक्रमण नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ।


