मटिअर्वाका आगलागी पीडितलाई रास्वपाका नेता रौनियारद्वारा इँटा र नगद सहयोग

साझेदारी डेलि
213 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा आगलागीबाट घरबारविहीन भएका रतन महरा चमारको परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका युवा नेता उमाशंकर रौनियारले आर्थिक तथा निर्माण सामग्री सहयोग गरेका छन्।

बुधबार रौनियारले पीडित परिवारको घर पुनर्निर्माणका लागि दुई ट्याक्टर इँटा र घरमा खाना पकाउन आवश्यक भाँडाकुँडा खरिद गर्न पाँच हजार रुपैयाँ नगद सहयोग गरेका हुन्।

मंगलबार बिहान करिब ३ बजे रतन महरा चमारको घरमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको थियो। आगलागीबाट घरका भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, गरगहना, दुईवटा साइकल तथा बाख्रासमेत जलेर नष्ट भएका थिए।

आगो फैलिँदा छिमेकी धुरेन्द्र महरा र हरिन्दर रामको घरमा समेत क्षति पुगेको थियो। विभिन्न निकाय तथा स्थानीयवासीको संयुक्त प्रयासमा बिहान करिब ४ः३० बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट प्रभावित परिवारलाई घर पुनर्निर्माण तथा दैनिक जीवनयापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रौनियारले सहयोग गरेका हुन्। पीडित परिवारलाई थप सहयोग गर्न सम्बन्धित निकाय, संघसंस्था, समाजसेवी तथा सहयोगी मनहरूलाई समेत आग्रह गरिएको छ।

Leave a review