प्रोग्रेस एकेडेमीले कक्षा १२ मा शतप्रतिशत नतिजा

साझेदारी डेलि
37 पाठक संख्या

डुमरवाना । जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित प्रोग्रेस एजुकेशन एकेडेमीले कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्दै आफ्नो शैक्षिक यात्रामा अर्को उपलब्धि थपेको छ। यसअघि २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालयले कक्षा १२ को पहिलो ब्याचबाटै उल्लेखनीय नतिजा निकाल्न सफल भएको हो।

विद्यालयका अनुसार परीक्षामा सहभागी १८ जना विद्यार्थीमध्ये २ जनाले ए–प्लस, ७ जनाले ए, ५ जनाले बी–प्लस तथा ४ जनाले बी ग्रेड प्राप्त गरेका छन्। सबै विद्यार्थी उत्तीर्ण भएपछि विद्यालय परिवार उत्साहित बनेको छ।

विद्यालयका शिक्षक रञ्जित सापकोटाका अनुसार पहिलो पटक कक्षा १२ को परीक्षामा सहभागी गराइएका विद्यार्थीहरूले अपेक्षाभन्दा राम्रो नतिजा ल्याएका हुन्। २०८१ सालमा कक्षा ११ सञ्चालनको अनुमति प्राप्त गरेपछि विद्यालयले पहिलो ब्याचलाई यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी गराएको थियो। विद्यालय प्रशासनले प्रभावकारी शैक्षिक व्यवस्थापन, नियमित अध्ययन–अध्यापन, विद्यार्थीको मेहनत तथा अनुशासित शैक्षिक वातावरणलाई सफलताको मुख्य आधारका रूपमा लिएको जनाएको छ।

यसअघि उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको २०८१ सालको कक्षा ८ को परीक्षामा समेत विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको थियो। लगातार प्राप्त हुँदै आएको सकारात्मक शैक्षिक उपलब्धिले अभिभावक तथा स्थानीय समुदायबीच विद्यालयप्रतिको विश्वास थप मजबुत बन्दै गएको विद्यालय पक्षको दाबी छ।

Leave a review

This will close in 0 seconds