नवनिर्वाचित उद्योगी–व्यवसायी नेतृत्वलाई उपमहानगरको सम्मान

साझेदारी डेलि
46 पाठक संख्या

सिमरा । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनबाट चयन भएको नयाँ नेतृत्वलाई जीतपुरसिमरा उपमहानगरपालिकाले औपचारिक रूपमा सम्मान गरेको छ।

उपमहानगरपालिका कार्यालयमा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले अध्यक्ष गजेन्द्रकुमार गुप्तासहित नवगठित कार्यसमितिका पदाधिकारीहरूलाई सम्मानपत्र, दोसल्ला तथा टीका प्रदान गर्दै बधाई ज्ञापन गरेका हुन्।

सम्मान समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले उद्योग, व्यापार र सेवा क्षेत्रको विकास नगरको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले व्यवसायीहरूको सक्रिय सहभागिता बिना स्थानीय अर्थतन्त्रले अपेक्षित गति लिन नसक्ने धारणा राख्दै नयाँ नेतृत्वले नगरको आर्थिक गतिविधिलाई थप उकास्ने विश्वास व्यक्त गरे।

उपप्रमुख अधिकारीले पनि नवगठित नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिँदै व्यवसायमैत्री वातावरण निर्माण, लगानी आकर्षण तथा उद्यमशीलताको विकासमा संघको महत्वपूर्ण भूमिका रहने बताए। उनले व्यवसायी समुदायका समस्या समाधान र स्थानीय आर्थिक उन्नतिका सवालमा उपमहानगरपालिका सधैं सहकार्यका लागि तयार रहेको स्पष्ट पारे।

संघको तेस्रो अधिवेशनबाट निर्वाचित नेतृत्वले व्यवसायीहरूको अधिकार संरक्षण, उद्योग तथा व्यापार क्षेत्रको विस्तार र निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूको समाधानका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नगर प्रमुखको कार्यकक्षमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उपमहानगरपालिकाका कर्मचारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो। सो अवसरमा स्थानीय सरकार र निजी क्षेत्रबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउने उपायबारे समेत विचार–विमर्श गरिएको थियो।

सम्मान ग्रहणपछि नवनिर्वाचित पदाधिकारीहरूले उपमहानगरपालिकाप्रति कृतज्ञता व्यक्त गर्दै नगरको आर्थिक समृद्धि, उद्यम विकास तथा व्यवसायीहरूको साझा हितका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

Leave a review

This will close in 0 seconds