दिवा खाजा कार्यक्रममै फर्जी बिलको खेल : व्यापारी दिपक दास विवादमा

साझेदारी डेलि
737 पाठक संख्या

बारा । बाराको कलैयाका व्यापारी दिपक दासले विद्यालयमा आपूर्ति गरिएको वास्तविक सामानभन्दा फरक विवरण उल्लेख गरी बिल बनाएर भुक्तानी लिने गरेको तथ्य सार्वजनिक भएको छ।

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१८ मोतिसरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमका लागि मासु, अण्डा, तरकारी, तेल, मसला लगायतका सामग्री आपूर्ति गरेपनि भुक्तानी भने चामल र दालको बिलका आधारमा लिइएको खुलेपछि विद्यालयको आर्थिक कारोबारमाथि गम्भीर प्रश्न उठेको छ।

स्थानीय मधु प्रसाद साहका अनुसार दिपक दास सञ्चालक रहेको ज्योति जेनेरल स्टोरले विद्यालयलाई विभिन्न खाद्य सामग्री उपलब्ध गराएको थियो। तर विद्यालयमा पेश गरिएका दुई वटा बिलमा भने ५ बोरा चामल र ४२ किलो दाल तथा अन्य सामाग्री मात्रै उल्लेख गरिएको छ। ती बिलमध्ये एउटा १९ हजार ७ सय रुपैयाँ र अर्को ८ हजार ८ सय रुपैयाँको रहेको छ। यसरी कुल २८ हजार ५ सय रुपैयाँ विद्यालयबाट भुक्तानी लिइएको देखिएको छ।

वास्तविक रूपमा आपूर्ति गरिएका सामग्री र बिलमा उल्लेख गरिएको विवरण मेल नखाएपछि सरकारी रकम भुक्तानी लिन फर्जी वा मिलेमतोका बिल प्रयोग गरिएको आशंका गरिएको छ। स्थानीयका अनुसार यस्तै प्रकृतिको बिल मिलाउने कार्य अन्य विद्यालय तथा संघसंस्थाहरूमा पनि भएको हुन सक्ने भएकाले यसको विस्तृत छानबिन आवश्यक रहेको बताएका छन्।

यस विषयमा ज्योति जेनेरल स्टोरका सञ्चालक दिपक दासले विद्यालयमा मासु, अण्डा, तरकारी, लसुन लगायतका सामग्री आपूर्ति गरिएको स्वीकार गरे। उनले ती सामग्रीको छुट्टै बिल नबनाई सोही रकम बराबरको चामल,दाल तथा अन्य खाद्यान्नको बिल बनाएको र त्यसैका आधारमा विद्यालयबाट भुक्तानी लिएको स्वीकार गरे।

यता विद्यालयका प्रधानाध्यापक मोतिलाल प्रसाद यादवले बिल लिने क्रममा त्रुटि भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता कमजोरी नदोहोरिने गरी आवश्यक सुधार गरिने बताएका छन्।

सरकारी अनुदानमा सञ्चालित दिवा खाजा कार्यक्रम बालबालिकाको पोषण सुधारका लागि ल्याइएको भए पनि आपूर्ति भएका सामग्रीभन्दा फरक विवरणका बिल बनाएर सरकारी रकम भुक्तानी लिने कार्यले सार्वजनिक वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न खडा गरेको छ। यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।

Leave a review

This will close in 0 seconds