सामुदायिक उपयोगका लागि पाँच समुदायलाई भाँडावर्तन वितरण

रञ्जन यादव
46 पाठक संख्या

जीतपुर । सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा समुदायलाई सहजता प्रदान गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिका–२० ले पाँच समुदायलाई भाँडावर्तन वितरण गरेको छ।

वडा कार्यालयले चालु आर्थिक वर्षको लक्षित वर्ग कार्यक्रमअन्तर्गत विनियोजित पाँच लाख रुपैयाँबाट खरिद गरिएका भाँडावर्तन आइतबार आयोजित कार्यक्रममा सम्बन्धित समुदायका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो।

वडाध्यक्ष रसुल मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

हस्तान्तरण गरिएका भाँडावर्तन विवाह, व्रतबन्ध, धार्मिक अनुष्ठान, सामाजिक भेला तथा अन्य सामुदायिक कार्यक्रममा प्रयोग गर्न मिल्ने गरी उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ। यसबाट समुदायले बाहिरबाट महँगो शुल्क तिरेर सामग्री भाडामा लिनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मियाँले सामुदायिक आवश्यकतालाई प्राथमिकतामा राखेर वितरण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। गत वर्ष एक समुदायबाट सुरु गरिएको कार्यक्रमलाई यस वर्ष विस्तार गरी पाँच समुदायसम्म पुर्‍याइएको उल्लेख गर्दै आगामी वर्षहरूमा बाँकी समुदायलाई समेत समेट्ने योजना रहेको उहाँले जानकारी दिनुभयो। सामुदायिक सम्पत्तिको संरक्षण गर्दै पारदर्शी र जिम्मेवार ढंगले प्रयोग गर्न उहाँले सबै समुदायलाई आग्रह गर्नुभयो।

प्रमुख अतिथि प्रदेशसभा सदस्य देवनारायण चौधरीले स्थानीय तहबाट उपलब्ध गराइने यस्ता सामग्रीले सामुदायिक कार्यक्रमको खर्च घटाउनुका साथै आपसी सहकार्य र सामाजिक सद्भाव अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो। स्थानीय सरकारका यस्ता जनमुखी कार्यक्रमले नागरिकको प्रत्यक्ष आवश्यकता सम्बोधन गर्न मद्दत पुग्ने उहाँको भनाइ थियो।

भाँडावर्तन प्राप्त गरेका समुदायका प्रतिनिधिहरूले सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा ठूलो राहत मिल्ने विश्वास व्यक्त गर्दै प्राप्त सामग्रीको संरक्षण र प्रभावकारी उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी, नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव हरिकिशोर साहले गर्नुभएको थियो।

Leave a review

This will close in 0 seconds