उच्च सतर्कता अपनाउन रौतहट प्रशासनको अनुरोध

Om Prakash Yadav
304 पाठक संख्या

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले अविरल वर्षाका कारण नदीहरूमा बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आजदेखि असोज २० गतेसम्म देशभर माध्यम देखि भारी र अति भारी वर्षा हुने सम्भावना रहेको हुँदा रौतहटको बागमती, लालबकैया, झाझ लगाएत नदीहरूमा बाढी आउन सक्ने उच्च जोखिम रहेकोले सतर्कता अपनाउन रौतहट प्रशासनले सबैलाई अनुरोध गरेको हो।

वर्षाका कारण मन्सुनजन्य विपद्का घटना हुन सक्ने भएको हुँदा नागरिकको जिउ धनको सुरक्षाका लागि रौतहटका नेपाल प्रहरी र सशस्त्र प्रहरी पूर्व तयारी अवस्थामा अलर्ट रहेको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको हो।

सम्भाव्य भारी वर्षाका कारण हुन सक्ने क्षति न्यूनिकरण गर्न जिल्लाका सबै स्थानीय तह, रेडक्रस, विपद् क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी संघ संस्थाहरुलाई विपद् पूर्व तयारीमा जुट्न र उद्धार वा प्रतिकार्य तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको हो ।

विपद् आई परेको अवस्थामा आवस्यक पर्ने उद्धारका सामग्रीहरू सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्न प्रशासन कार्यालयले निर्देशन दिएको छ।

बाढीको उच्च जोखिम रहेका नदी किनार तथा डुबानमा पर्न सक्ने क्षेत्रका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाइ सुरक्षित स्थानमा सर्न रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले आग्रह गरेका छन्।

यसैबीच अविरल वर्षका कारण रौतहट स्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढेपछि बाढीको जोखिम बढ्न थालेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज २० गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षा हुने चेतावनी जारी गरेपछि रौतहटका सशस्त्र प्रहरी बलले अग्रिम रूपमा सतर्कता र उद्धार कार्य अघि बढाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं ११ गण, हे.क्वा. रौतहट र मातहतका सन्तपुर, दुधियाभार, विजयपुर र समनपुर लगायत सम्पूर्ण बेस क्याम्पहरूले जोखिमयुक्त बस्तीहरूमा सचेतनामूलक माइकिङ कार्यक्रम सञ्चालन गर्दै बाढीग्रस्त हुन सक्ने स्थानका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।

बाढी जोखिम उच्च भएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको रौतहटका सशस्त्र प्रहरी उपरिक्षक राम हरी अधिकारीले जानकारी दिएका छन्। आफ्ना सबै टोली २४ सै घण्टा उद्धार र आपतकालीन राहतका लागि स्ट्यान्डबाइ अवस्थामा रहेको समेत एसपी अधिकारीले जनाए।

बाढी जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना,स्थानीय तह र स्थानीय बासिन्दाबीच समन्वय गरी उद्धारका लागि आवश्यक डुङ्गा, डोरी, जीवनरक्षक ज्याकेटलगायतका उपकरणहरू तयारी अवस्थामा राखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी सीडीओ विनोद कुमार खड्काले बताएका छन्।

Leave a review