त्रिवेणी स्पिनिङ मिल्सद्वारा श्रमिकहरूलाई काममा फर्कन आग्रह

रञ्जन यादव
237 पाठक संख्या

जीतपुर : बाराको पथलैया वीरगञ्ज औधोगिक करिडोरमा रहेको त्रिवेणी स्पिनिङ मिल्स लिमिटेडले लामो समयदेखि थन्किएको औद्योगिक गतिविधि पुनः सामान्य बनाउन श्रमिकहरूलाई तत्काल काममा फर्कन आग्रह गरेको छ।

कम्पनीले श्रम ऐन र सम्बन्धित कानुनी प्रावधानको पूर्ण पालना गर्दै सञ्चालन हुँदै आएको र श्रमिक हितलाई सधैं प्राथमिकतामा राखिएको स्पष्ट गरेको छ । कम्पनीका अनुसार, मुनाफा कमाएको अवधिमा श्रमिकलाई कानुनले तोकेका सुविधामात्र होइन, ऐनमा परिकल्पना नै नगरिएका अतिरिक्त लाभ तथा सहयोग पनि प्रदान गरिँदै आएको थियो ।

तर पछिल्ला वर्षहरूमा कोभिड–१९ को असर, विभिन्न समयमा भएको गैरकानूनी हड्ताल, उत्पादन तथा आपूर्ति श्रृंखलामा आएको अवरोध जस्ता कारणले उद्योग ठूलो नोक्सानीमा परेको कम्पनीका प्रशासकिय अधिकृत राजेश श्रेष्ठले जानकारी दिए। यद्यपि, यस्तो चुनौतीपूर्ण अवस्थामासमेत कम्पनीले श्रमिक कटौती नगरी निरन्तर रोजगारी तथा कानुनअनुसार पारिश्रमिक र सुविधा उपलब्ध गराइरहेको जनाएको छ।

उता, ट्रेड यूनियनहरूले राखेका गर्न नसकिने मागहरूका कारण उत्पन्न विवाद हाल मध्यस्थतामा विचाराधीन रहेको र मध्यस्थता जारी रहेका बेला गत २०८२ साल असोज २३ गतेदेखि गरिएको हड्ताललाई श्रम विभागले गैरकानूनी घोषित गरिसकेको जानकारी कम्पनीले स्पष्ट पारेको छ। यही बीच, उद्योग सञ्चालन गराउन माग गर्दै कम्पनीमा क्रियाशील तीन वटा श्रमिक संगठनहरूले श्रम कार्यालयमा निवेदन दर्ता गराएका छन्।

कम्पनीले पनि कानूनसम्मत रूपमा उद्योग सञ्चालन गर्न पूर्ण तयारी रहेको र यसअघि विभिन्न मितिमा काममा फर्कन अनुरोध गर्दै सूचना सार्वजनिक गरिइसकेको जनाएको छ।कम्पनीले केही व्यक्तिहरूको स्वार्थमा गरिएको अवाञ्छित गतिविधिलाई औद्योगिक वातावरण खलबल्याउने कार्यको रूपमा व्याख्या गर्दै, यस्तो गैरकानूनी हड्ताल तथा अवरोधले उद्योग मात्र होइन, श्रमिकहरूको रोजगारीमा पनि गम्भीर असर पर्ने चेतावनी दिएको छ।

उद्योग लामो समय बन्द रहिरहे रोजगारी कटौती अपरिहार्य बन्न सक्ने अवस्था भएकाले यस्तो परिणाम नआओस् भन्नका लागि सबै श्रमिकलाई तुरुन्तै काममा फर्कन प्रशासकीय अधिकृत श्रेष्ठले सबै मजदुरमा आग्रह गरेका छन ।

Leave a review

This will close in 0 seconds