कलैया । जिल्ला प्रशासन कार्यालय बाराले नयाँ प्रणालीमा आबद्ध हुन तीन दिनका लागि राहदानी सेवा बन्द हुने जनाएको छ। कार्यालयका प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवले सोमबार एक सूचना जारी गरी यसबारे जानकारी दिएका हुन्।

सूचनामा राहदानी विभागबाट नयाँ प्रणाली मार्फत राहदानी जारी गर्न आवश्यक तयारी भईसकेको र हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा यस कार्यालयबाट प्रदान गरिने राहदानी सेवा केही दिन बन्द हुन सक्ने भनी मिति २०८३ असार १९ गते राहदानी विभागबाट सूचना प्रकाशित भएको लेखिएको छ।
यस सन्दर्भमा विभागले यही मिति २०८३ असार २९ गते (तद्नुसार १३ जुलाई २०२६) मा हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको हुँदा यस कार्यालयबाट प्रदान गरिने राहदानी सेवा असार २४ गतेदेखि २६ गते सम्म तीन दिन बन्द हुने सूचनामा जनाइएको छ ।
असार २९ गते (तद्नुसार १३ जुलाई २०२६) देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रुपमा सुचारु हुने जानकारी उक्त सूचनामा दिइएको छ।
सेवाग्राहीहरुले प्राप्त गरेको टोकनको सन्दर्भमा नयाँ प्रणालीमार्फत फाराम भरी जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न सूचनामा अनुरोध गरिएको छ। यसबाट सेवाग्राहीमा पर्न गएको असुबिधा प्रति कार्यालय क्षमाप्रार्थी रहेको सूचनामा जनाइएको छ।


