बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ टेढा रोडस्थित भित्री सडकखण्डमा ईभी कार अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा मानवीय क्षति नभए पनि पसल तथा कारमा क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार दिउँसो टेढाबाट जितपुरतर्फ आउँदै गरेको बा.प्र. ०१–०३१च ३८८० नम्बरको ईभी कार आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको रोहित एण्ड प्रियंका किराना पसल अगाडि राखिएको चामलको बोरामा ठोक्किएको थियो।
कारले ठक्कर दिँदा १२ बोरा चामल तथा प्रभात ज्वेलर्सको काउन्टरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनामा कारको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। कार चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ बस्ने अन्दाजी ५० वर्षीय अशोककुमार अधिकारी इलाका प्रहरी कार्यालय सिमरा, बारामा आफैँ सम्पर्कमा आएका छन्।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको र ईभी कार इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन् ।


