रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख यादवसहित चार जना उपर विशेष अदालतमा आरोपपत्र दायर

साझेदारी डेलि
118 पाठक संख्या

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंले रौतहटको गढीमाई नगरपालिकाका नगर प्रमुख सहित चार जना उपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले मंगलबार एक विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

अख्तियारले मेयर श्यामप्रसाद यादव, गढीमाई नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुर, गढीमाई नगरपालिकाका तत्कालीन राजस्व शाखाका प्रमुख बालकिशोर राय, भाग्यमणी कन्सक्ट्रसन प्रालि काठमाण्डौ तथा उक्त कम्पनीका मुख्य भई काम गर्ने राधेश्याम विरुद्ध आरोपपत्र दायर गरिएको हो।

उनीहरुमाथि बालुवा गिट्टी ग्राभेलमा दुई करोड ६२ लाख ५७ हजार रुपैयाँ बराबरको क्षति गरेको आरोप लगाउँदै क्षति भएको रकमको विगो बमोजिम असूल गर्ने तथा कैद सजायको माग दावी अख्तियारले गरेको छ।

गढीमाई नगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ को लागि समनपुरघाटको बालुवा, गिट्टी, ग्राभेलको आन्तरिक आय ठेक्कामा बुझाउनुपर्ने रकम नबुझाई राजस्व हिनामिना गरेको उजुरीका सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको हो।

गढीमाई नगरपालिकाले आ.ब. २०७६।०७७ का लागि समनपुर नाकाको बालुवा, गिट्टी, ग्राभेल उत्खनन्, संकलन, बिक्री तथा निकासी कार्यको आय ठेक्काको वोलपत्र आह्वान गरेको थियो। बोलपत्रदाता भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि., बत्तीसपुतली, काठमाडौँले कबोल रकम रू.तीन करोड पच्चीस लाख रूपैयाँ स्वीकृत गरी सकार गरेको थियो।

सकार गरेको पूरै रकम एकमुष्ट जम्मा गरी सक्कल बैँक भौचर सहित ७ दिनभित्र सम्झौता गर्न आउन भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि., बत्तीसपुतली, काठमाडौँलाई २०७६।०५।२४ गते पत्राचार भएकोमा २४ दिन पश्चात मिति २०७६।०६।१६ गते जम्मा रू. चौरासी लाख त्रिसाठ्ठी हजार रूपैयाँ मात्र दाखिला गरेको पाइएको छ।

सम्झौताका लागि निवेदन दिएकोमा बोलपत्र आह्वानको सूचनामा उल्लेखित शर्त तथा बन्देज विपरीत उक्त कम्पनीले सम्झौताको लागि निवेदन दिएको मितिभन्दा एक दिन अघि कै २०७६।०६।१५ मा रू. एक करोड रूपैयाँ रकम दाखिला भइसकेको भनी झुट्टा बेहोरा उल्लेख गरी टिप्पणी उठाई पेश गरेको थियो।

नगर प्रमुखले टिप्पणी स्वीकृत गरी सूचनाको शर्त र बन्देजमा रहेको व्यवस्था विपरीत १ महिनाको लागि १०,००० घनमिटर नदिजन्य पदार्थ उत्खनन, संकलन, बिक्री र निकासी गर्न सम्झौता गरी अस्थायी चलन पुर्जी दिएका थिए। ५४,३५५.०० घनमिटर उत्खनन र निकासी गराई रू. तीन करोड बत्तीस लाख उनन्सत्तरी हजार सात सय उनान्नब्वे रूपैयाँ र पैसा अन्ठाउन्न बराबरको लाभ हासिल गरे गराएको देखिएको पाइएको छ।

२०७६।०९।१६ गतेसम्ममा रू. एक करोड नौ लाख त्रिसाठी हजार रूपैयाँ मात्र दाखिला गरेको पाइएको हो। उक्त ठेक्का सम्झौता बापत बुझाउन बाँकी रू.दुई करोड पन्ध्र लाख सैंतीस हजार रूपैयाँ र ठेक्काको सम्झौता बमोजिम कबोल अंकको हुन आउने मूल्य अभिबृद्धि कर वापतको रकम रू. बयालीस लाख पच्चीस हजार रूपैयाँ गरी जम्मा रू. दुई करोड सन्ताउन्न लाख बासठ्ठी हजार रूपैयाँ रकम दाखिला नगरेको पाइएको छ।

Leave a review

This will close in 0 seconds