कलैया । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, काठमाडौंले रौतहटको गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना उपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। अख्तियारका प्रवक्ता सुरेश् न्यौपालेले मंगलबार एक प्रेस विज्ञप्ति यसबारे जारी गरेका हुन्।
गढीमाई नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुर, तत्कालीन लेखा प्रमुख कामेश्वर सहनी तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि.बत्तिसपुतली काठमाण्डौं तथा उक्त कम्पनीका मुख्य भई काम गर्ने राधेश्याम साह उपर आरोपपत्र दायर गरिएको हो।
उनीहरु उपर ७८ लाख १५ हजार रुपैयाँ बराबरको हानी नोक्सानी गरेको आरोप लगाइएको छ। रौतहट जिल्लाको गढीमाई नगरपालिकाबाट आर्थिक वर्ष २०७६/०७७ को लागि लक्ष्मीपुर–धर्मपुरघाटको बालुवा, गिट्टी, ग्राभेलको आन्तरिक आय ठेक्कामा बुझाउनुपर्ने रकम नबुझाई राजस्व हिनामिना गरेको आरोप उनीहरुमाथि लागेको हो।


