मटिअर्वा नाकामा तस्करीको ‘लाइन’ दिन असई रानाले डीएसपी थापाको नाममा एक लाख लिएको आरोपसहितको भिडियो भाइरल

साझेदारी डेलि
183 पाठक संख्या

बारा । बाराको कलैया उपमहानगरपालिका-१० स्थित मटिअर्वा नाकाबाट तस्करीको ‘लाइन’ मिलाइदिने भन्दै सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) केशव रानाले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेन्द्र थापाको नाममा एक लाख रुपैयाँ लिएको आरोपसहितको भिडियो सार्वजनिक भएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा एक व्यक्तिले असई रानालाई तस्करीको लाइन दिन भन्दै एक लाख रुपैयाँ दिएको दाबी गरेका छन्। रकम ब्याजमा लिएर रानालाई दिएको बताउँदै ती व्यक्तिले आफ्नो पैसा फिर्ता नगरे रुखमा बाँधेर कुट्ने धम्कीसमेत दिएको भिडियोमा उल्लेख गरेका छन्।

ती व्यक्तिले असई रानालाई कमिसनमा कपडासमेत दिने गरेको दाबी गरेका छन्। उनका अनुसार मटिअर्वा नाकाबाट रातिको समयमा १० नम्बर पिलर हुँदै तस्करी हुने गरेको छ।

मटिअर्वा, छतवा, मुसहर्वा, सिम्रौनगढ तथा पचरौतालगायत सीमावर्ती नाकाबाट लामो समयदेखि प्रहरीको मिलेमतोमा तस्करी हुँदै आएको स्रोतको दाबी छ। यद्यपि, यी आरोपहरूको पुष्टि हुन बाँकी छ।

यस विषयमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका डीएसपी दिपेन्द्र थापाले घटनाबारे आफूले आन्तरिक छानबिन गरिरहेको बताएका छन्।

उनले पैसा लिएको हो वा होइन भन्ने विषयमा दुवै पक्षलाई एकै ठाउँमा राखेर वास्तविकता पत्ता लगाउने र रकम लेनदेन पुष्टि भएमा दिने र लिने दुवैलाई पक्राउ गरी सत्यतथ्य छानबिन तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने बताए।

“म आफैँ उक्त विषयमा छानबिन गर्दै छु। असई रानाले पैसा लिएको पुष्टि भएमा उनलाई कारबाही गर्छु,” डीएसपी थापाले भने।

यता असई केशव रानाले भने आफूले तस्करसँग कुनै रकम नलिएको दाबी गरेका छन्। सम्पर्क गर्दा उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा आफूविरुद्ध लगाइएको आरोप गलत भएको बताए।

Leave a review

This will close in 0 seconds