बारामा करदाताको दायरा फराकिलो, राजस्व १७ प्रतिशतले बढ्यो

रञ्जन यादव
34 पाठक संख्या

जीतपुर । बारामा करको दायरा विस्तारसँगै आन्तरिक राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ। आन्तरिक राजस्व कार्यालय सिमराले गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा १७ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १७ अर्ब ८१ करोड ६७ लाख ५८ हजार रुपैयाँ राजस्व उठेको छ। आर्थिक वर्ष २०८१/८२ मा भने १५ अर्ब २२ करोड ७७ लाख ६४ हजार रुपैयाँ सङ्कलन भएको थियो।

कार्यालय प्रमुख दिनेश पाण्डेका अनुसार गत आवका लागि २१ अर्ब ४ करोड ४४ लाख ८६ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य निर्धारण गरिएको थियो। लक्ष्यको तुलनामा ८५ प्रतिशत राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।

राजस्वका प्रमुख शीर्षकमा सबैभन्दा उल्लेख्य सुधार आयकरतर्फ देखिएको छ। अघिल्लो आवमा ८५ करोड १० लाख ९२ हजार रुपैयाँ आयकर उठेकोमा गत आवमा यो बढेर १ अर्ब ७४ करोड २२ लाख ३१ हजार रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १०४.७ प्रतिशतको वृद्धि हो। आयकरतर्फ निर्धारित २ अर्ब २२ करोड ९० लाख ७३ हजार रुपैयाँ लक्ष्यको ७८ प्रतिशत प्रगति भएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलनमा पनि वृद्धि भएको छ। आव २०८१/८२ मा १ अर्ब ८ करोड ७ लाख ४० हजार रुपैयाँ भ्याट सङ्कलन भएकोमा गत आवमा ४१.४६ प्रतिशतले बढेर १ अर्ब ५२ करोड ८८ लाख ८ हजार रुपैयाँ पुगेको कार्यालयले जनाएको छ। भ्याटतर्फ लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन भएको छ।

कार्यालयको कुल राजस्वमा भने अन्तःशुल्कको हिस्सा सबैभन्दा ठूलो छ। अघिल्लो आवमा १० अर्ब ४७ करोड ९२ लाख ६८ हजार रुपैयाँ अन्तःशुल्क सङ्कलन भएकामा गत आवमा ११ अर्ब ६६ करोड २० लाख ४७ हजार रुपैयाँ पुगेको छ। अन्तःशुल्कतर्फ निर्धारित लक्ष्यको ९३ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ।

राजस्वसँगै करदाताको सङ्ख्या पनि बढेको छ। एक वर्षको अवधिमा कार्यालयमा दर्ता भएका कुल करदाता ८४ हजार ४८४ बाट बढेर ९३ हजार १०९ पुगेका छन्। यो करदाताको सङ्ख्यामा १०.२ प्रतिशत वृद्धि हो।

करदाता विस्तारमा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या बढ्नु प्रमुख कारण देखिएको छ। व्यक्तिगत प्यान लिनेको सङ्ख्या ५७ हजार ७२७ बाट बढेर ६४ हजार ६०० पुगेको छ।

यसैगरी आयकरमा दर्ता भएका करदाता १५ हजार ५१८ बाट बढेर १६ हजार ४५४ पुगेका छन्। भ्याटमा दर्ता भएका व्यवसायीको सङ्ख्या पनि ९ हजार ५२४ बाट बढेर १० हजार २४५ पुगेको छ।

अन्तःशुल्कतर्फ दर्ता भएका करदाता १ हजार ५६६ बाट बढेर १ हजार ६४८ पुगेका छन्। डब्लु प्यानतर्फ भने दर्ता सङ्ख्या १४९ बाट बढेर १६२ पुगेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

कार्यालयले राजस्वमा भएको वृद्धि र करदाताको सङ्ख्या बढ्नुलाई कर प्रशासनको पहुँच विस्तारसँगै जिल्लामा आर्थिक कारोबारको दायरा बढेको सङ्केतका रूपमा लिएको छ। विशेषगरी आयकर तथा भ्याटमा देखिएको वृद्धिले व्यवसायिक गतिविधि र कर सहभागितामा सुधार आएको देखाएको छ।

Leave a review