सामुदायिक प्रहरीद्वारा नवनिर्वाचित सांसद पन्त सम्मानित

साझेदारी डेलि
263 पाठक संख्या

वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्तलाई सामुदायिक प्रहरी कुम्हालटोलले एक कार्यक्रमका बीच सम्मान गरेको छ।

कार्यक्रममा सामुदायिक प्रहरीका पदाधिकारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सांसद पन्तलाई अबिर, टीका, खादा तथा माला लगाई मायाको चिनो प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। सोही अवसरमा समुदायका विभिन्न सुझाव समेटिएको ज्ञापनपत्र पनि पन्तलाई हस्तान्तरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि सांसद पन्तले प्रहरीप्रतिको डर र दूरी हटाई समाज र प्रहरीबीच सहकार्य बढाउन सामुदायिक प्रहरीको अवधारणा ल्याइएको बताए। उनले सामुदायिक प्रहरीले समाज र प्रहरीबीच विश्वासको वातावरण निर्माण गर्दै सेवा गरिरहेको उल्लेख गरे।

“म नेता होइन, तपाईंहरूकै सेवक हुँ। यस चुनावमा कुनै व्यक्ति होइन, जनताले जनतालाई जिताएका छन्,” उनले भने, “तपाईंहरूले दिएको विश्वासले मेरो जिम्मेवारी अझ बढाएको छ। म सकेसम्म देश, वीरगञ्ज र यहाँका जनताको सेवामा समर्पित रहनेछु।”

कार्यक्रममा सामुदायिक प्रहरीका सल्लाहकार मार्टिन मोक्तानले सांसद पन्तको जितले महात्मा गान्धीको ‘सादा जीवन, उच्च विचार’ को झल्को दिएको बताए। पन्तको सरल, मिलनसार र दृढ स्वभावका कारण पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए। सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरीले सांसद पन्तलाई बधाई दिँदै छोटो समयको आग्रहमा कार्यक्रममा सहभागी भई समुदायका सुझावहरू सुनेकोमा धन्यवाद व्यक्त गरे।

कार्यक्रममा वीरगञ्ज–५ का वडासदस्य मनोज साह, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, अभिभावक संघका अध्यक्ष सन्दीप साह, लोकल नेपाल प्रालिका सञ्चालक युवराज केसरी, प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिरलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामुदायिक प्रहरी कुम्हालटोलका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो। स्वागत मन्तव्य सामुदायिक प्रहरीका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले राखेका थिए भने कार्यक्रमको सहजीकरण सचिव श्रवणबहादुर रायमाझीले गरेका थिए।

Leave a review

This will close in 0 seconds