बारा । पर्सा प्रहरीले चार लाख १९ हजार चार सय १० रुपैयाँ बराबरको अवैध औषधिसहित एक जनालाई आइतबार नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने ४२ वर्षीय राजेश यादव रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए।
पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित एबी क्यारियर्समा अवैध औषधिहरू बिक्री बितरण कार्य भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले जाँच गरेको हो।
प्रहरीले एबी क्यारियर्सका सञ्चालक यादवलाई बरामद औषधिहरू सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय, वीरगञ्ज पर्सामा पठाएको छ।
बरामद सामाग्रीमा हिम क्याम एम्पी मल्टि डोज भेट एक सय ६८ गोटा, लिलिभम्याक्स भेट ईन्जेक्सन आठ सय ४० पिस,हिमहिल भर्वल दुई सय ९५ थान बरामद भएको छ।


