ढलानको गुणस्तरमाथि प्रश्न उठाउँदा युवामाथि दुर्व्यवहार

साझेदारी डेलि
75 पाठक संख्या

परवानीपुर । बाराको परवानीपुर गाउँपालिका–५ अन्तर्गत बहुवरी क्षेत्रमा निर्माणाधीन सडक ढलान कार्यलाई लिएर विवाद उत्पन्न भएको छ । निर्माण कार्यमा अनियमितता भइरहेको भन्दै भिडियो खिचिरहेका स्थानीय युवामाथि वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर प्रसाद साह कलवारले हातपात गरेको आरोप लागेपछि घटना सार्वजनिक बहसको विषय बनेको हो ।

स्थानीयवासीका अनुसार बहुवरी क्षेत्रमा भइरहेको सडक ढलान कार्य गुणस्तरहीन ढंगले भइरहेको आशंका लामो समयदेखि उठ्दै आएको थियो । सडक निर्माणमा प्रयोग भइरहेको सामग्री तथा कामको मापदण्डप्रति प्रश्न उठेपछि केही युवाहरूले वास्तविक अवस्था अभिलेखीकरण गर्न मोबाइलमार्फत भिडियो खिच्न थालेका थिए।

त्यही क्रममा वडाध्यक्ष कलवार घटनास्थलमै पुगेको र भिडियो खिचिरहेका युवाहरूसँग विवाद भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । विवाद बढ्दै जाँदा वडाध्यक्षले युवामाथि दुव्र्यवहार तथा हातपात गरेको आरोप स्थानीयहरूले लगाएका छन् । घटनापछि केही समय उक्त क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ ।

स्थानीयवासीका अनुसार सार्वजनिक सरोकारसँग जोडिएको विकास निर्माणको कामबारे चासो राख्नु नागरिकको अधिकार भए पनि त्यसलाई रोक्न खोजिनु दुःखद पक्ष हो । “सडकको गुणस्तर कमजोर देखिएपछि हामीले प्रमाणका लागि भिडियो खिचिरहेका थियौं, तर उल्टै हामीमाथि आक्रामक व्यवहार गरियो,” एक स्थानीय युवाले बताए ।

घटनाको विषय सामाजिक सञ्जालमा फैलिन थालेपछि वडाध्यक्षको भूमिकामाथि आलोचना सुरु भएको छ । स्थानीयहरूले सडक निर्माण कार्यको प्राविधिक परीक्षण गरी निष्पक्ष छानबिन गर्न माग गरेका छन् । साथै दोषी जो–कोही भए पनि कानुनी कारबाही हुनुपर्ने उनीहरूको भनाइ छ ।

स्थानीय अगुवाहरूले विकास निर्माणका काममा पारदर्शिता, जनउत्तरदायित्व र गुणस्तर कायम हुनुपर्नेमा जोड दिएका छन् । जनप्रतिनिधिले नागरिकको जिज्ञासा र प्रश्नलाई दबाबको रूपमा नभई सुधारको अवसरका रूपमा लिनुपर्ने उनीहरूको धारणा छ ।

यता घटनाबारे वडाध्यक्ष कलवारको औपचारिक प्रतिक्रिया भने सार्वजनिक हुन बाँकी रहेको छ । स्थानीय प्रशासन तथा सम्बन्धित निकायले घटनाको सत्यतथ्य बुझी आवश्यक कदम चाल्नुपर्ने मागसमेत बढ्दै गएको छ ।

Leave a review

This will close in 0 seconds