गरिमा चौधरीको बलात्कारपछि हत्याको विरोधमा स्थानीय आन्दोलित, पथलैया-वीरगन्ज सडक अवरुद्ध

साझेदारी डेलि
105 पाठक संख्या

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयवासी आन्दोलित भएका छन्।

घटनाका दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयवासीले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण सडकमा सवारी आवागमनसमेत प्रभावित भएको छ।

साउन ३१ गते बिहानदेखि बेपत्ता भएकी गरिमाको शव मंगलबार साँझ एक खाली घरभित्र फेला परेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिकालाई चकलेटको प्रलोभन देखाएर जबर्जस्ती करणी गरी हत्या गरिएको खुलेपछि स्थानीयवासी आक्रोशित बनेका हुन्।

प्रदर्शनका क्रममा स्थानीयले घटनामा संलग्न दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै कडा कानुनी कारबाहीको माग गरेका छन्।

सडक अवरुद्ध भएपछि अवस्था नियन्त्रणमा लिन तथा यातायात सञ्चालन गराउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले म्याजिकका सहचालक सुमन थापा र सवारीधनी प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a review