गरिमा चौधरी हत्या प्रकरण : जीतपुरसिमरामा यातायात ठप्प, विद्यालय बन्द

साझेदारी डेलि
21 पाठक संख्या

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा जीतपुरसिमरामा स्थानीयको आन्दोलन चर्किएको छ। स्थानीयले बिहीबार उपमहानगरभित्रका ग्रामीण सडकमा समेत टायर बालेर यातायात ठप्प पारेका छन्।

जीतपुरसिमराका निजी तथा सामुदायिक विद्यालयले शोकसभा गर्दै विद्यालय बन्द गरेका छन्। उनीहरूले घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

गरिमाको खोजीमा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीमाथि कारबाहीको माग गरेका छन्। कार्यालय घेराउ गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन्।

आन्दोलनका कारण सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर र पथलैया–सिमरा सडकखण्ड प्रभावित भएका छन्। यसअघि बुधबारदेखि नै वीरगन्ज–पथलैया सडकखण्डमा यातायात अवरुद्ध छ।

बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले आन्दोलनरत पक्षका माग सम्बोधनका लागि छलफल भइरहेको र निर्णायक वार्ताको तयारी गरिएको बताएका छन्।

Leave a review