बारा । तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीले शनिबार पक्राउ परेका प्रोग्रेस चौधरीको घरमा खानतलासी गरेको छ।
गरिमाको शव मंगलबार प्रोग्रेसको घरबाट करिब २०० मिटर टाढा रहेको एक खाली घरमा फेला परेको थियो। स्थानीयले भने गरिमाको हत्या प्रोग्रेसकै घरमा भएको र शव व्यवस्थापनका लागि खाली घरमा लगिएको आशंका गर्दै उक्त घरमा खानतलासीको माग गर्दै आएका थिए।
प्रहरीका अनुसार प्रोग्रेसले चलाउने ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक सुमन थापा पनि पक्राउ परेका छन्। सुमन प्रोग्रेसकै घरमा बस्दै आएका थिए।
गरिमा हराएपछि उनका बुबा मनोज चौधरीले प्रोग्रेसविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। घटनाबारे प्रहरीले थप प्रमाण संकलन र अनुसन्धानका लागि प्रोग्रेसको घरमा खानतलासी गरिरहेको जनाएको छ।


