बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका निवासी विद्यार्थी प्रदीप खड्का रहेका छन्। उनलाई प्रहरीले गएराति पक्राउ गरेको हो।
घरबाट हराएको तीन दिनपछि गत भदौ २ गते गरिमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार खड्कालाई पक्राउ गरेसँगै घटनाको अनुसन्धानका क्रममा हालसम्म ९ जना प्रहरी नियन्त्रणमा परेका छन्।


