बारामा चोरी-तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता : असोज महिनामा १ करोड १५ लाखभन्दा बढीका सामान बरामद

साझेदारी डेलि
52 पाठक संख्या

बारा । सीमा क्षेत्रमा हुने अवैध चोरी-तस्करी नियन्त्रण तथा राजस्व चुहावट रोकथामका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा असोज महिनामा मात्रै १ करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। सोहि क्रममा तस्करी कार्यमा संलग्न रहेको दुई जना व्यक्तिलाई नियन्त्रणमा लिई बरामद सामानसहित आवश्यक कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

गणअन्तर्गतका सीमा सुरक्षा इकाइहरूले विशेषगरी कपडा, किराना सामान, सूर्तीजन्य पदार्थ, मोबाइलका पार्टपुर्जा, खाद्यवस्तु, सवारीसाधनका पार्टपुर्जा तथा अन्य भन्सार छलीका सामानहरूको ओसारपसार नियन्त्रणमा सक्रियता बढाएका छन्। सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि नियमित गस्तीका साथै मोबाइल टोली परिचालन, सीमा नाकामा निगरानी र सम्बन्धित निकायसँग समन्वयलाई समेत प्राथमिकता दिइएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार सीमा क्षेत्रमा हुने अवैध चोरी-तस्करी नियन्त्रण, राजस्व संरक्षण तथा सीमापार अपराध न्यूनीकरणका लागि गणअन्तर्गतका इकाइहरूलाई सक्रिय रूपमा परिचालन गरिएको छ।

उनका अनुसार असोज महिनामा गरिएको कारबाहीका क्रममा १ करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गर्नुका साथै तस्करी कार्यमा संलग्न रहेको दुई जना व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न बीरगंज भन्सार कार्यालयमा बुझाइएको छ।

सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि नियमित गस्ती, सूचना संकलन, मोबाइल टोली परिचालन तथा अन्य सुरक्षा निकायसँगको समन्वयलाई प्राथमिकता दिइएको सूचना अधिकारी डिएसपी अधिकारीले जानकारी दिए ।

यस्ता गतिविधिको नियन्त्रणबाट राज्यको राजस्व संरक्षण हुनुका साथै सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र अवैध कारोबार न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले आगामी दिनमा समेत सीमा क्षेत्रमा निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाउँदै चोरी–तस्करी नियन्त्रण र राजस्व संरक्षणका लागि आवश्यक कारबाहीलाई निरन्तरता दिने सूचना अधिकारी डिएसपीले जानकारी दिए ।

Leave a review