जीतपुर । बालबालिकामाथि हुने हिंसा तथा दुव्र्यवहार न्यूनीकरणका लागि जीतपुरसिमरा क्षेत्रमा विद्यालय केन्द्रित सचेतना अभियान सुरु गरिएको छ। बालबालिकालाई आफ्नै शरीरको सुरक्षाबारे जानकारी गराउने उद्देश्यले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले विद्यालय पुगेर ‘गुड टच–ब्याड टच’ सम्बन्धी प्रशिक्षण दिन थालेका हुन्।
गिरीले आफूले अध्ययन गरेको जीवन ज्योति सेकेन्ड्री स्कुल, जीतपुरबाट अभियानको सुरुवात गरेका छन्। कार्यक्रममा बालबालिकालाई आफूलाई असहज लाग्ने वा अनुचित स्पर्श भएमा त्यसको प्रतिरोध गर्ने तथा घटना लुकाउनुको सट्टा अभिभावक, शिक्षक वा विश्वासिलो व्यक्तिलाई जानकारी गराउने विषयमा जानकारी दिइएको थियो।
प्रशिक्षणमा बालबालिकामाथि हुन सक्ने यौनजन्य हिंसा तथा दुव्र्यवहारका संकेत, जोखिमबाट जोगिने उपाय र असहज परिस्थितिमा अपनाउनुपर्ने व्यवहारबारे समेत जानकारी दिइएको गिरीले बताए।
बालबालिकामाथि हुने हिंसाका घटना रोक्न विद्यालय तहबाटै सुरक्षा र आत्मरक्षासम्बन्धी ज्ञान दिन आवश्यक रहेको उनको भनाइ छ। अभियानलाई अन्य विद्यालयमा समेत विस्तार गरी विद्यार्थी, शिक्षक र अभिभावकलाई सहभागी गराउने योजना रहेको गिरीले बताए। बालबालिकाको सुरक्षा केवल विद्यालय वा परिवारको जिम्मेवारी नभई समुदायको समेत साझा दायित्व भएकाले सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले जोड दिए।


