करण कुमार मिश्र/
गत तीन महिनाअघि रोजगारीका लागि मलेसिया गएका रौतहटका एक युवा बेपत्ता भएका छन् ।
जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ विजयपुरका श्रीराम साह तेलीका छोरा कृष्णा साह गत ३ महिनादेखि परिवारबाट सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।
गत फागुन २८ गते रोजगारीका लागी मलेसिया जानुभएका कृष्णा साह हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेको छ । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन बुवा श्रीराम साह तेलीले सबैलाई अपिल गरेका हुन् ।
राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताए । “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर ३ महिनादेखि छोराको अत्तोपत्तो नपाउँदा छोराकै पिरले हामीलाई दिनको भोक र रातको निद हराएको बताए ।
मलेशिया गएको एक महिनासम्म छोराले फोन गरिने गरेपनि त्यसपछि कुराकानी हुन छाडेको उनले बताए । अहिले कहाँ र कस्तो अवस्था छ, कुनै आपतविपद परेर हो कि अथवा केही भयो कि ? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै सस्यामा परेका छौँ । लामो समयसम्म सम्पर्क विहीन हुदा आफुहरु जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी समेत दिएको जानकारी दिए ।
गत ३ महिनाअघि काठमाडौँको गोर्खा मेनपावरबाट मलेसिया गएका कृष्णा साह मलेसियाको सेलेङ्गर स्थित केलाङ्ग भन्ने ठाउँमा काम गर्न गएको कृष्णाका आफन्तले बताए । एक महिना सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्क विहीन भएको उहाँको भनाइ छ । कृष्णालाई विदेश पठाएको मेनपावरमा पटक पटक गुहार लगाउदा पनि अटेरी गरेको परिवारजनको गम्भीर आरोप छ ।
हालसम्म सम्पर्क विहिन भएको छोराको अवस्था पत्ता नलागेको साहले बताए । छोरा गएको ठाउँ मलेसियालगायत सबैतिर खोजिदिन परिवारले जिल्ला प्रहरी कार्यालय रौतहट, गोर्खा मेनपावर लगायत सम्बन्धित सबैसँग आग्रह गरेको छ ।

