उपचारपछि सर्पदंशकी महिला घर फर्किइन्

रञ्जन यादव
44 पाठक संख्या

जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाकी ५५ वर्षीया रामपति देवी महतो विषालु करेट सर्पको डसाइबाट गम्भीर बिरामी परेपछि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्। स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरी परिवारले घर ल्याएको छ।

भदौ २ गते बिहान करिब ४ बजे घरमै भुइँमा ओछ्यान लगाएर सुतिरहेको अवस्थामा महतोलाई करेट सर्पले डसेको थियो। सर्पले डसेलगत्तै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि परिवारले तत्काल वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याएको थियो।

अस्पतालमा उपचारका क्रममा उनको अवस्था गम्भीर रहेको जनाइएको थियो। घटनाबारे बिहान करिब ६ः१० बजे इलाका प्रहरी कार्यालय जीतपुरमा जानकारी पुगेपछि प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको नेतृत्वमा दुई सदस्यीय टोली घटनास्थलमा पुगेको थियो।

अस्पतालमा निरन्तर उपचार र निगरानीपछि महतोको स्वास्थ्यमा क्रमिक सुधार आएको प्रहरीले जनाएको छ। भदौ १० गते अपराह्न करिब ४ः४८ बजे आफन्तले स्वास्थ्यमा सुधार आएको जनाउँदै डिस्चार्जका लागि आग्रह गरेपछि अस्पतालबाट उनलाई घर लगिएको हो।

अस्पतालमा सुरक्षाका लागि खटिएको प्रहरीमार्फत महतोलाई स्वास्थ्य सुधारपछि परिवारले घर लगेको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ।

Leave a review