रसुवा बाढी पीडितका लागि सुवर्ण गाउँपालिकाद्वारा ४ लाख १ हजार रुपैयाँ सहयोग

साझेदारी डेलि
18 पाठक संख्या

कलैया । बाराको सुवर्ण गाउँपालिकाले रसुवामा आएको बाढीद्वारा पीडित परिवारकोलागि राहत उपलव्ध गराउने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी चार लाख एक हजार रुपैयाँको सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइने जनाएका हुन्।

रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारणा भएको ठूलो धनजनको क्षति, जनजीवनमा परेको असर तथा भौतिक पूर्वाधारमा भएको क्षतिप्रति सुवर्ण गाउँपालिका परिवार अत्यन्त दुःखित एवं मर्माहत भएको विज्ञप्तिमा उल्लेख छ। यस दुःखद् विपद्मा परी ज्यान गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति भावपूर्णा श्रद्धाञ्जली अर्पणा गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना सो विज्ञप्तिमा व्यक्त गरिएको छ।

विपदबाट प्रभावित सम्पूर्ण नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारहरूको शीघ्र पुनःस्थापनाको कामना विज्ञप्तिमा गरिएको छ।गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरुको ५ दिनको तलब बराबरको रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाइएको छ।

विपद्को यस कठिन घडीमा सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय तह, संघ–संस्था तथा नागरिक समाजलाई प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा आ–आफ्नो तर्फबाट सक्ने सहयोग र सहकार्य गर्न सुवर्ण गाउँपालिकाले विज्ञप्तिमा अपिल समेत गरेको छ।

Leave a review