रसुवा बाढी पीडितका लागि राहत सामग्री बोकेर कोल्हबीबाट टोली प्रस्थान

साझेदारी डेलि
74 पाठक संख्या

कोल्हबी । बिनिता चौधरी / रसुवा जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर कोल्हबीबाट टोली प्रस्थान गरेको छ। कोल्हबी नगर उद्योग वाणिज्य संघको समन्वयमा संकलन गरिएको खाद्यान्न तथा अन्य आवश्यक सामग्री लिएर राहत टोली रसुवातर्फ प्रस्थान गरेको हो।

बाढीपहिरोका कारण प्रभावित तथा पीडित परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले कोल्हबी क्षेत्रका विभिन्न सहयोगी मन भएका व्यक्ति तथा संघ–संस्थाबाट सहयोग संकलन गरिएको थियो। संकलित सहयोगबाट खाद्यान्नलगायत आवश्यक सामग्री व्यवस्थापन गरी पीडितसम्म पुर्‍याउन लागिएको हो।

यसै क्रममा कोल्हबी नगर उद्योग वाणिज्य संघको समन्वयमा विभिन्न सहयोगी मन भएका दाताहरूबाट संकलित रु. १ लाख २६ हजार ३ सय ३० रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ।

राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता, व्यवसायी, संघ–संस्था तथा स्थानीयवासीप्रति आयोजकले आभार व्यक्त गरेको छ। विपद्को समयमा मानवीय सहयोगमार्फत पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताइएको छ।

त्यस्तै, राहत सामग्री रसुवासम्म पुर्‍याउन आवश्यक सवारीसाधन तथा गाडीको सम्पूर्ण व्यवस्थापन गरिदिएकोमा कोल्हबी नगरपालिकालाई कोल्हबी नगर उद्योग वाणिज्य संघले विशेष धन्यवाद दिएको छ।

विपद्को समयमा स्थानीय तह, उद्योगी–व्यवसायी, नागरिक समाज तथा सर्वसाधारणबीचको सहकार्यले पीडित परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। कोल्हबीबाट राहत सामग्री बोकेर टोली रसुवातर्फ प्रस्थान गरेसँगै स्थानीय स्तरबाट सञ्चालन गरिएको राहत अभियानले थप गति लिएको छ।

Leave a review