इटहरीमा ५० हजार घुससहित विद्युत् प्राधिकरणका इन्जिनियर पक्राउ

साझेदारी डेलि
38 पाठक संख्या

सुनसरी । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत एक इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले वितरण केन्द्र इटहरीमा कार्यरत इन्जिनियर (सातौं) कृष्ण नारायण यादवलाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत् लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले यादवलाई निगरानीमा राखेको थियो।

यादवलाई सेवाग्राहीबाट घुसबापत ५० हजार रुपैयाँ लिइसकेको अवस्थामा इटहरी उपमहानगरपालिका–९ बाट भदौ १७ गते नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

उनको साथबाट घुस रकमबाहेक स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँ समेत बरामद भएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

यादवविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा बिहीबार विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

Leave a review