७ लाख ५० हजार घुस प्रकरण : सर्लाहीका दुई कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र

साझेदारी डेलि
91 पाठक संख्या

सर्लाही । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत छैठौं तुलाकान्त चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि सेवाग्राहीलाई भुक्तानी दिने क्रममा घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले ढकाल र चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा दुवै कर्मचारीको मिलेमतोमा १३ वटा डिप बोरिङ तथा मोटर जडानका लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरिएको र कागजी प्रक्रिया तथा आवश्यक कागजातसमेत आफैंले तयार गराएको खुलेको अख्तियारले जनाएको छ।

उपभोक्ता समितिको छाप तथा अध्यक्षको हस्ताक्षरसमेत गराई कामको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रकम बार्गेनिङ गरी ७ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगको दाबी छ।

आयोगले दुवै जनाको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै बिगो ७ लाख ५० हजार रुपैयाँ कायम गरेको छ।

उनीहरूलाई कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Leave a review