प्रकाशकीय : एघार वर्षको यात्रा, विश्वासको निरन्तरता

साझेदारी डेलि
33 पाठक संख्या

आज साझेदारी राष्ट्रिय दैनिकले आफ्नो प्रकाशन यात्राको एघार वर्ष पूरा गरी १२औँ वर्षमा प्रवेश गरेको छ। यस सुखद अवसरमा हामी सम्पूर्ण पाठक, शुभेच्छुक, विज्ञापनदाता, सहयोगी संघ–संस्था, पत्रकार तथा कर्मचारीप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

साझेदारी राष्ट्रिय दैनिकको जन्म मुलुक राजनीतिक र सामाजिक संक्रमणबाट गुज्रिरहेका बेला भएको हो। दोस्रो संविधानसभाबाट नेपालको नयाँ संविधान जारी भएपछि तराई–मधेशमा संविधानप्रति असन्तुष्टि चुलिएको थियो। मधेशी, थारू, आदिवासी जनजाति लगायतका समुदायले आफ्ना अधिकार र पहिचानका सवाल पर्याप्त रूपमा सम्बोधन नभएको भन्दै आन्दोलन गरिरहेका थिए। त्यही संवेदनशील परिवेशमा जनताका आवाजलाई स्थान दिने उद्देश्यका साथ हाम्रो पत्रकारिता यात्रा सुरु भएको थियो।

एघार वर्षको अवधिमा मुलुकको राजनीति, समाज र सञ्चार क्षेत्रमा धेरै परिवर्तन भएका छन्। तर जनताका सरोकारका विषय भने अझै उत्तिकै महत्वपूर्ण छन्। सुशासन, विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, सामाजिक न्याय र नागरिक अधिकारका सवालमा राज्यलाई निरन्तर खबरदारी आवश्यक छ। साझेदारी राष्ट्रिय दैनिकले यही जिम्मेवारीलाई आफ्नो पत्रकारिताको आधार बनाउँदै आएको छ।

हाम्रो उद्देश्य कुनै व्यक्ति वा शक्तिको पक्षमा उभिनु होइन, सत्य, तथ्य र जनसरोकारको पक्षमा उभिनु हो। भ्रष्टाचार, अनियमितता, बेथिति र अन्यायका विषयमा तथ्यसहित प्रश्न उठाउने तथा समाजमा भइरहेका सकारात्मक कामलाई पनि पाठकसमक्ष पु¥याउने हाम्रो प्रयास जारी रहनेछ।

समयसँगै सञ्चारको स्वरूप पनि परिवर्तन भएको छ। छापा माध्यमसँगै अनलाइन र डिजिटल प्लेटफर्म सूचना प्रवाहका महत्वपूर्ण माध्यम बनेका छन्। आगामी दिनमा छापा संस्करणको विश्वसनीयता कायम राख्दै डिजिटल माध्यमलाई थप प्रभावकारी र पाठकमैत्री बनाउने हाम्रो प्रयास हुनेछ। एघार वर्ष पूरा हुनु हाम्रा लागि उत्सव मात्र होइन, आत्मसमीक्षाको अवसर पनि हो। विगतका अनुभवबाट सिक्दै कमजोरी सुधार गर्ने र पत्रकारितालाई अझ जिम्मेवार, मर्यादित र विश्वसनीय बनाउने हाम्रो प्रतिबद्धता छ।

१२ औँ वर्षमा प्रवेश गर्दै गर्दा हाम्रो संकल्प स्पष्ट छ—सत्यलाई सत्यकै रूपमा प्रस्तुत गर्ने, जनताको आवाजलाई प्राथमिकता दिने र समाजप्रति जिम्मेवार पत्रकारिताको धर्मबाट विचलित नहुने । यस यात्रामा निरन्तर साथ, सहयोग र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण पाठक तथा शुभेच्छुक सवैप्रति पुनः हार्दिक धन्यवाद दिन चाहन्छौ । धन्यवाद

श्यामबावु प्रसाद यादव
प्रकाशक/सम्पादक
साझेदारी राष्ट्रिय दैनिक

Leave a review