कोल्हबीमा आजदेखि प्रथम नगर लिग फुटबल प्रतियोगिता, ९ क्लब भिड्दै

साझेदारी डेलि
46 पाठक संख्या

कोल्हबी । बिनिता चौधरी / नगर खेलकुद विकास समिति कोल्हबीको आयोजनामा प्रथम नगर लिग फुटबल प्रतियोगिता आज सोमबारदेखि सुरु हुँदैछ। कोल्हबी नगरपालिका–१ स्थित मठवा फिल्डमा सञ्चालन हुने प्रतियोगिताबारे आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

कोल्हबी नगरपालिकाभित्रका फुटबल खेलाडीहरूको प्रतिभा प्रस्फुटन, खेल कौशल अभिवृद्धि तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नगर खेलकुद विकास समितिका संयोजक शिव चौधरीले बताए।

स्थानीयस्तरमा लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूलाई खेलकुद क्षेत्रमा अगाडि बढाउने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगितामा कोल्हबी नगरपालिकाभित्रका ९ वटा क्लब सहभागी हुनेछन्।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद ४० हजार रुपैयाँ, दोस्रो हुने टोलीले २० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि ९ लाख ८३ हजार ९ सय ५० रुपैयाँ अनुमानित बजेट विनियोजन गरिएको जानकारी दिइएको छ। प्रतियोगिताले कोल्हबीको खेलकुद क्षेत्रको विकास र विस्तारमा योगदान पुर्‍याउनुका साथै स्थानीय खेलाडीहरूमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

नगर खेलकुद विकास समिति कोल्हबीका संयोजक शिव चौधरीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा अग्रज व्यक्तित्व नन्दलाल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा समाजसेवी भुवनप्रसाद चौधरी, जोगिन्द्र चौधरी, नेपाल विद्यार्थी संघ बाराका सभापति समीर चौधरीलगायतको उपस्थिति थियो।

प्रतियोगिताको उद्घाटन समारोह आज सोमबार दिउँसो २ बजे मठवा फिल्डमा हुने आयोजकले जनाएको छ। उद्घाटन समारोहमा खेलप्रेमी, स्थानीयवासी तथा सरोकारवालालाई उपस्थित हुन आयोजकले आग्रह गरेको छ।

Leave a review