बारा । विशेष अदालतले भ्रष्टाचार मुद्दामा बाराको पचरोता नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मकबुल मियाँसहित ७ जनालाई सफाई दिएको फैसलाविरुद्ध अख्तियर दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
विशेष अदालतले सफाई दिएपछि वडाध्यक्ष मियाँसहित ७ जनालाई अख्तियारले सजायको माग दावी गर्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएका हुन्।
अख्तियारले सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको जनाई विशेष अदालतमा मुद्दा गरेको थियो। प्रतिवादी मकबुल मियाँ अंसारीसमेत रहेको सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा शुक्रबार पुनरावेदनको निवेदन दर्ता गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा बिगो रु.४ लाख ७६ हजार कायम गरी सोही दफा १७ ले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को (संशोधनसहित) को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय गरी सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको थियो। विशेष अदालतले यही बैशाख ७ गते फैसलाबाट सफाई दिएको हो।
विशेष अदालतको फैसलाविशेष अदालतको फैसलाका आधार आयोगवाट उमद मियाँ अन्सारी, साजुल मियाँ अन्सारी,रवैया अन्सारी, मकबुल मियाँ अन्सारी, संगिता घिमिरे, पिटर थारु र राजाराम प्रसाद साहविरुद्ध पुनरावेदनको माग गरिएको हो। उनीहरुउपर सरकारी सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्सानी गरी भ्रष्टाचार गरेको जनाइएको छ।


