बारा । बाराको कलैया उपमहानगरपालिका-१५ बकुलहरमा निर्माणाधीन शिवम सुगर मिल्स एन्ड केमिकल इन्डस्ट्रिज प्रालिबाट निस्कने दूषित पानीले खेतीयोग्य जमिनमा असर पार्ने जोखिम रहेको भन्दै स्थानीय तथा जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारी र कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् ।
कलैया उपमहानगरपालिका–२७ का वडाध्यक्ष अशोककुमार तिवारीको नेतृत्वमा सोमबार गएको टोलीले जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी र कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कडेललाई ज्ञापनपत्र बुझाउँदै चिनी मिलबाट निस्कने दूषित पानीको उचित व्यवस्थापन गर्न माग गरेको हो ।
ज्ञापनपत्रमा कलैया उपमहानगरपालिकाका वडा नम्बर ९, ११, १४ र २७ का अधिकांश खेतीयोग्य जमिनमा सिँचाइ गर्न किसानको अगुवाइमा कुलो निर्माण गरी सञ्चालनमा ल्याइएको उल्लेख छ । यस क्षेत्रका किसानले वर्षौंदेखि उक्त कुलोको पानी प्रयोग गरेर खेतबारीमा सिँचाइ गर्दै आएका छन् ।
तर, निर्माणाधीन चिनी मिलबाट निस्कने हानिकारक रसायनयुक्त पानी इम्रिती नदी हुँदै सिँचाइ कुलोमा मिसाइएको स्थानीयले आरोप लगाएका छन् । उक्त पानी सिँचाइमा प्रयोग भए खेतीयोग्य जमिनको उर्वराशक्ति घट्नुका साथै समग्र कृषि उत्पादनमा गम्भीर असर पर्न सक्ने उनीहरूको भनाइ छ ।
स्थानीयले खेतीयोग्य जमिनको संरक्षण र किसानको हितलाई ध्यानमा राख्दै चिनी मिलबाट निस्कने दूषित पानीको निकास अन्यत्र व्यवस्थापन गर्न तथा समस्या समाधानका लागि आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
यसैबीच, इम्रिती सिँचाइ योजना जल उपभोक्ता समितिले पनि असोज २२ गते बसेको बैठकबाट चिनी मिलको फोहोर पानी सिँचाइको मुहानमा मिसाउने कार्य तत्काल रोक्न माग गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष घनश्याम पाण्डेयका अनुसार उक्त मुहानको पानी कलैया उपमहानगरपालिकाका चार वडाका किसानले खेतबारीमा सिँचाइ गर्न प्रयोग गर्दै आएका छन् । फोहोर पानीका कारण किसानले क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसलाई रोक्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको अध्यक्ष पाण्डेयले बताए ।
कलैया उपमहानगरपालिकाका वडा नम्बर ९, ११, १४ र २७ ले समेत यस विषयमा आवश्यक कदम चाल्न सम्बन्धित निकायलाई सिफारिस गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले दसैँपछि दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर छलफल गराउने र त्यसपछि लिखित रूपमा जानकारी दिने आश्वासन दिएको वडाध्यक्ष तिवारीले बताए ।
वडाध्यक्ष तिवारीले फोहोर पानीको उचित व्यवस्थापन गरेपछि मात्रै चिनी मिल सञ्चालन गर्नुपर्ने माग गरेका छन् । समस्या समाधान नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनले दिएका छन् । अध्यक्ष तिवारीका अनुसार ईम्रिति नदीमा पाँचवटा वडाका छठघाट रहेकाले त्यहाँ छठपूजा गर्न आउने स्थानीयवासी प्रभावित हुनेछन्।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा वडा नम्बर ९ का वडा सदस्य रामनाथ कुशवाहा, वडा नम्बर १४ का वडा सदस्य राजकुमार साह, इम्रिती सिँचाइ योजना जल उपभोक्ता समितिका अध्यक्ष घनश्याम पाण्डेय, वडा नम्बर २७ का पूर्ववडाध्यक्ष रेयाजुलहक अन्सारी, वडा नम्बर २७ का वडा सदस्य आलमहम्मद अन्सारीसहित किसान, जनप्रतिनिधि तथा युवाहरूको उपस्थिति रहेको थियो ।


