बारा । बाराको कलैया उपमहानगरपालिका–१४ भौरास्थित खेल मैदानमा जारी सुजित मेमोरियल टी–२० क्रिकेट प्रतियोगितामा मंगलवार भएको दोस्रो खेलमा कलैया उपमहानगरपालिका–६ ले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै कलैया–१२ माथि ५६ रनको शानदार जित निकालेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कलैया–६ ले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २०३ रन जोड्दै कलैया–१२ सामु २०४ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो ।
कलैया–६ का लागि प्रफुल अग्रवालले ब्याटिङ गर्दै ३१ बलमा ५५ रन बनाए । त्यस्तै रोशन गुप्ताले ३८ बलमा ४६ तथा मोहम्मद समिमले १६ बलमा २८ रन जोडे ।
जवाफी ब्याटिङमा उत्रिएको कलैया–१२ ले लक्ष्य भेट्टाउन सकेन । टोली १७.३ ओभरमा १४७ रनमै समेटिएपछि कलैया–६ ले ५६ रनको जित सुनिश्चित गरेको हो ।
कलैया–१२ का निखिल पासवानले ५० बलमा ७२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । अवधेश यादवले १८ र ओमप्रकाश यादवले १५ रनको योगदान दिए ।
कलैया–६ को जितमा बलर सेराज हवारी निर्णायक बने । उनले ३.३ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । मोहम्मद समिम र मोहम्मद चान्दले समान २–२ विकेट हात पारे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सेराज हवारी म्यान अफ द म्याच घोषित भएका छन् । उनलाई आयोजक यूथ अफ कलैया–१४ खेलकुद व्यवस्थापन समितिका अध्यक्ष रमेश ठाकुरले पुरस्कार प्रदान गरेका हुन् ।
स्वर्गीय युवा नेता सुजित पाण्डेको स्मृतिमा आयोजित प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई समूह ‘क’ र समूह ‘ख’ मा चार–चार टोली गरी विभाजन गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी र मेडल तथा उपविजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेल बुधबार हुनेछ । बिहान ८ बजेदेखि कलैया–४ र कलैया–७ बीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १ बजेदेखि कलैया–२७ र कलैया–१२ आमनेसामने हुनेछन् ।



