बारामा सशस्त्र प्रहरीद्वारा ११ लाखभन्दा बढीको भन्सार छलीको कपडा र मोटरसाइकल बरामद, एक जना नियन्त्रणमा

साझेदारी डेलि
71 पाठक संख्या

बारा । बारामा सशस्त्र प्रहरीले ११ लाख ४६ हजार रुपैयाँ बराबरका भन्सार छलीका कपडा र तीनवटा मोटरसाइकल बरामद गरेको छ । साथै प्रहरीले एक जनालाई नियन्त्रणमा लिइएको छ ।

मंगलबार बाराको सुवर्ण गाउँपालिका–३ पचगछिया स्थित सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार बरामद सामग्रीमध्ये ६ लाख ९६ हजार रुपैयाँ बराबरका साडी तथा धोतीका कपडा र ४ लाख ५० हजार रुपैयाँ बराबरका तीनवटा मोटरसाइकल रहेका छन् ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पिपरपाती र बोर्डर आउट पोस्ट (बीओपी) बेनौलीबाट खटिएको गस्ती टोलीलाई देखेपछि केही व्यक्ति मोटरसाइकलमा राखेर ल्याउँदै गरेको सामान छाडेर फरार भएका थिए । सोही क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिई कपडा र मोटरसाइकल बरामद गरेको हो ।

बरामद सामान तथा नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिएका छन् ।

Leave a review