राधाकृष्ण सामुदायिक वनलाई पर्यटकीय गन्तव्य बनाउने तयारी

साझेदारी डेलि
30 पाठक संख्या

जीतपुर । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक वनलाई पर्यटनसँग जोडेर स्थानीयको आयआर्जन बढाउने योजना अघि सारिएको छ। वन तथा वन्यजन्तुको संरक्षणलाई निरन्तरता दिँदै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विषयमा सरोकारवालाले सहकार्यको आवश्यकता औँल्याएका छन्।

राधाकृष्ण मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले विजयादशमी, दीपावली, छठ तथा नेपाल संवत्का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रममा वन संरक्षण र पर्यापर्यटन प्रवद्र्धनबारे छलफल भएको हो।

समूहका अध्यक्ष सत्यबहादुर श्रेष्ठले सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्न कार्ययोजना अघि बढाइएको जानकारी दिए। उनले वनको प्राकृतिक सम्पदा संरक्षण गर्दै पर्यटनसम्बन्धी गतिविधि विस्तार गर्न सम्बन्धित निकाय र स्थानीय समुदायको सहयोग आवश्यक रहेको बताए।

पर्सा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख डा. अशोक कुमार रामले संरक्षणका कार्यक्रम सञ्चालन गर्दा स्थानीय बासिन्दाको आवश्यकता र हितलाई प्राथमिकता दिनुपर्ने बताए। वन तथा वन्यजन्तुको संरक्षणसँगै वन पैदावारको उपयोग र आयआर्जनका अवसर विस्तार गर्न सके स्थानीयको सहभागिता बढ्ने उनको भनाइ थियो।

जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले निकुञ्ज क्षेत्रलाई पर्यापर्यटनको आकर्षक गन्तव्य बनाउन सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले पर्यटन विकासका लागि बृहत् योजना निर्माण गरी योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने धारणा राखे।

सालिकराम रेग्मीले सहजीकरण गरेको कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज मण्डलसहित वन संरक्षणमा संलग्न व्यक्तिहरूको सहभागिता रहेको थियो।

Leave a review